१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सल्यानमा मकै बालीमा फौजी किराको प्रकोप



सल्यान ।
अमेरिकन फौजी किराको प्रकोपले सल्यानमा मकै बालीमा क्षति पुगेको छ । कुमाख गाउँपालिका, कपुरकोट गाउँपालिकालगायतका क्षेत्रमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र सल्यानले जनाएको छ । जिल्लामा पहिलो पटक फौजी किराको प्रकोप देखा परेको केन्द्रका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।

फौजी किराको प्रकोप नियन्त्रणबाहिर गइसकेको उनको भनाइ छ । ‘पहिलो र दोस्रो चरणको अवस्थामा कीटनाषक औषधि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘तर कुमाखमा तेस्रो र चौथो चरणमा पुगिसकेकाले नियन्त्रण गर्न समस्या छ ।’ पाखोबारीमा रोपेको मकैमा पनि प्रकोप फैलन सक्ने भएकाले सजकता अपाउन किसानलाई उनको सुझाव छ । फौजी किरा मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यो रातको समयमा बढी सक्रिया हुने गर्छ सूचना अधिकारी बस्नेतले बताए ।

मकैमा लागेको किराका कारण उत्पादनमा ७० देखि ८० प्रतिशत कम हुने उनको भनाइ छ । कुमाख गाउँपालिकाको रागेचौर, स्थानीपिप्ली, शान्तिनगर, भण्डारखोला, झाँरकाँडा लगायतका क्षेत्रमा फौजी किराको प्रकोप बढी देखिएको छ । कुमाख गाउँपालिकाका करिब १८० घरधुरीले २२ हेक्टरमा लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  ८ : ४२ बजे