७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पाउने भए देउखुरीका किसानले क्षतिपूर्ति



दाङ ।
दाङको देउखुरीका किसानले अब क्षतिपूर्ति पाउने भएका छन् । २७७ जना गरिमा धान पीडित किसानका लागि भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले १५ लाख ८८ हजार रुपैयाँ विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र गरेको छ ।

केही दिन भित्रमा ती किसानको हातसम्म क्षतिपूर्ति रकम पुग्‍ने लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले बताए । लमही नगरपालिका वडा नं। ३ स्थित सनराइज एग्रिकल्चर प्रालिले देउखुरी क्षेत्रका दुई वटा एग्रोभेट सेन्टरलाई गरिमा धान भनेर बिक्री गरेको थियो । उत्पादन राम्रो हुने र नेपालको हावापानी यो जातको धानलाई सुहाउने भन्ने जानकारी पाएपछि लमही नगरपालिकाका २७७ जना किसानले यो धानको बीउ खरिद गरेका थिए ।

दुई सय ७७ जना किसानले बाह्र सय सात किलो बीउ प्रयोग गरेका थिए । नक्कली गरिमा धानको बीउ लगाएका चार जना किसान लमही नगरपालिकाको कृषि कार्यालयमा सम्पर्कमा आउँन ढिला भएकाले सम्बन्धित मन्त्रालयमा विवरण पठाउन छुटेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए । छुटेका चार जनालाई पनि लमही नगरपालिकाको आर्थिक विकास शाखाको बैठकले सबैलाई समावेश गराएर दिने भन्ने निर्णय भएको छ ।

गरिमा धान लगाउने किसानलाई प्रतिकिलो १३ सय १५ रुपैयाँ पैसट्ठी पैसा क्षतिपूर्ति पाउनेछन् । गरिमा धान भनेर खरिद गर्ने दाङमा करिब तीन सय उन्तीस जना किसान पीडित छन् । प्रालिले बितेको वैशाख र जेष्ठ महिनामा प्रति किलो दुई सय साठीमा दाङका चार वटा एग्रोभेट सेन्टरलाई बिक्री गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०७७ आइतबार ००:००  १ : ३० बजे