१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा कोरोना संक्रमित पुगे १ सय ९, सबैभन्दा बढी यशोधरामा



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । पछिल्लो चार हप्ता भित्रमै संक्रमित संख्या हात्तै बढेको हो ।

रोजगारीको लागि भारतमा गएका घर फर्किएसंगै कोरोना देखिन थालेको जिल्लामा संक्रमितको संख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ ।

जिल्लाको १० ओटै स्थानीय तहमा फैलिएको कोरोनाको नमुना परिक्षण सुस्त गतिमा हुँदा क्वारेनटाइनमा बस्नेहरु समस्यामा पर्न थालेका छन । कतिपय त क्वारेनटाइनबाटै भाग्न थालेका छन ।

जिल्लाका १० पालिकाले बनाएका क्वारेनटाइनमा अहिले साढे ६ हजार जना रहेका छन । जिल्लाको यशोधरा गाउँपालिकामा मंगलबार एकैपटक सबैभन्दा धेरै २४ जना कोरोना संक्रमित देखिएका छन । राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा उनीहरुलाई कोरोना देखिएको हो ।

भारतीय सिमावर्ती यशोधरा गाउँपालिकामा एकै पटक २४ जना संक्रमित थपिएका हुन् । संक्रमित थपिनेहरुमा वडा नं. १, २ र ८ का रहेका छन ।

जसमा दुई बर्षीया बालिका रहेकी छिन । यस्तै अरु १९ बर्ष देखि ५५ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यशोधरा गाउँपालिकामा यसभन्दा अगाडी १२ जना संक्रमित भएकोमा आज २४ थपिएसंगै त्यहाँ संक्रमितको संख्या ३६ पुगेको छ ।

जिल्लामा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको मायादेवी गाउँपालिकामा १५ जना, वाणगंगा नगरपालिकामा १२ जना, कपिलवस्तु नगरपालिकामा ११ जना, महाराजगञ्ज नगरपालिकामा ९ जना, कृष्णनगर नगरपालिकामा ८ जना रहेका छन ।

यस्तै शिवराज नगरपालिकामा ६ जना, बुद्धभूमि नगरपालिकामा ६ जना, विजयनगर गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकामा २ जना रहेका छन् ।

मंगलबार र सोमबार साँझ गरी २६ जना संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । जसमा ११ जना निको भएर घर फर्किसकेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ६ : ०६ बजे