१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

तौलिहवास्थित सिडियो कार्यालय आसपासको यो ‘लकडाउन’ ! (भिडिओसहित)



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा बुधबार विहानसम्म १ सय ९ जना कोरोना संक्रमित छन् । पछिल्लो चार हप्ताभित्रै कोरोना संक्रमितको यो संख्या बढेको हो । कोरोना संक्रमित देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला ‘सिल’ आह्वान गरेको छ । जेष्ठ २० गतेसम्म प्रशासनको भाषामा दोस्रो पटक ‘जिल्ला’ सिल छ ।

तर, सिलको विपक्षीमा प्रदेश सांसदले निरन्तर आवाज उठाइरहेका छन । कोरोना नियन्त्रणको उपाय सिल त हुँदै होइन लकडाउन पनि होइन भन्ने जिल्लाका प्रदेश सांसदको धारणा छ । गत जेष्ठ ६ गते जिल्लाका प्रदेश सांसदहरु भेला बसेर सिल खुकुलो बनाउन प्रशासनसंग आग्रह गर्ने निर्णय गरेर धारणा सार्वजनिक गरिसकेका छन ।

कोरोनाको इपिसेन्टर बन्न थालेको कपिलवस्तुलाई कोरोनाको संक्रमण फैलन नदिन प्रशासनले सिल गरेपनि प्रदेश सांसदको चर्को दबाबमा प्रशासन गल्याें । हप्ताको तीन दिन, तीन घण्टा अत्यावश्कीय खाद्यान्न पसल मात्र खुल्ला गर्ने गरी जिल्ला सिल गरेको प्रशासन कार्यालले हालै मात्र आफ्नो निर्णय सच्चाउँदै बैंक तथा वित्तीय संस्था खुल्ला गर्ने निर्णय गरेको थियो ।

प्रशासनले जेष्ठ ७ गते एक सूचना निकाल्दै आइतबार, बुधबार, सोमबार र विहीबार बैंक खुल्ला गर्ने निर्णय गरेको हो ।

यसको लागि प्रशासनले बैङ्कहरुलाई दुई भागमा बाँडेको छ । नेपाल बैङ्क लिमिटेड, कृषि विकास बैङ्क, राष्ट्रिय बाणिज्य बैङ्क, एभरेष्ट बैङ्क, एन आइसी एसिया, प्रभु, तिनाउ मिसन डेभलपमेन्ट बैङ्क र एन एमबी बैङ्क आइतबार र बुधबार खुल्न पाउने छन् भने माछापुच्छ्रे, लक्ष्मी, मेगा, कामना सेवा, ग्लोबल आइएमई, गरिमा विकास वैङ्क, नविल बैङ्क र यो सूचनामा उल्लेख नभएका अरु बैङ्क तथा वित्तिय संस्थाहरु सोमबार र विहिबार खुल्न पाउने गरी नियम बनाएको छ । प्रशासनले यो पनि भनेको छ । बैङ्किङ् सेवा दिँदा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, सेनेटाइजर प्रयोग गर्नु पर्छ ।

तर, बुधबार तौलिहवामा देखिएको यो भीडले प्रशासनको निर्णयलाई गिज्याईरहेको छ । सिडियो कार्यालय आसपासमै देखिएको यो भीडले जिल्ला सिललाई लाजको पछारो पारेको छ । यो भीडले कोरोना नियन्त्रण होइन कोरोना जिस्काईरहेको प्रष्ट संकेत गरेको छ ।

जिल्ला प्रशासनले जिल्लामा अहिले लकडाउन खुकुलो पार्ने समय भएको छैन भन्दै आएपनि प्रदेश सांसदकै दबाबका कारण बैंक खुल्ला गर्ने निर्णयमा पुगेको स्रोत बताउँछ ।

जेष्ठ ६ गते तौलिहवामा ८ जना प्रदेश सांसद बसेर जिल्ला सिल खुकुलो पार्न प्रशासनलाई दबाब दिएका थिए । प्रदेश सांसदहरुले बैंक तथा वित्तिय संस्थाहरुलाई समय तालिका मिलाएर खोलाउन पहल गर्ने निर्णय गरेका थिए । उद्योग भित्रै खाने बस्ने व्यवस्था गरी उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न पहल गर्ने, उपभोक्ता समिति र मेशिनले गर्ने विकास निर्माणका कार्यलाई सुरक्षा सर्तकता अपनाउँदै सञ्चालन गर्न पहल गर्ने लगायतका निर्णय प्रदेश सांसदहरुले गरेका छन् । यही निर्णयको दबाबमा परेर प्रशासनले सिल खुकुलो पारेको हो । जसको भरपूर सदुपयोग तौलिहवा क्षेत्रका सर्वसाधारणले गरेका छन !

एकातिर कोरोना समुदायस्तरमा फैलन थालेको छ भने अर्को तिर क्वारेनटाइनमा बस्दै आएकाहरुको नमुना परिक्षण भएको छैन । यसो हुँदा क्वारेनटाइनमा बसेकाहरु भागेर घर हिड्न विवश भएका छन । सोमबार साँझमात्र ४२ जना भागेर घर हिडेका थिए । मंगलबार विहान प्रशासनले भकाएर पुनः क्वारेनटाइनमा राखेको थियो । यो काण्ड पनि एक लज्जाको काण्ड थियो ।

खुल्ला सीमा नाकाका कारण दैनिक सयौं व्यक्ति भारत हुँदै जिल्ला प्रवेश गरिरहेका छन । यस्तो बेला कोरोना नियन्त्रणको एक मात्र अस्त्र लकडाउन खुकुलो पार्दा जिल्लाको अवस्था भयावह हुनेमा सरोकारवालाको चिन्ता छ । विश्व स्वास्थ्य संगठनले पनि पटक पटक कोरोना नियन्त्रणका लागि लकडाउन मात्र उपयुक्त माध्यम भएको बताउँदै आएको छ । उसले लकडाउन खुकुलो पार्दा स्थिती झन भयावह आउने चेतावनी दिदै आएको छ । तर, जिल्लाका प्रदेश सांसदको दबाब र प्रशासनको आफ्नो पूर्व निर्णयमा टिक्न नसक्ने बानीले जिल्लाबासीमा कोरोनाको त्रास सिर्जना भएको छ । बुधबार तौलिहवामा देखिएको यो तस्बीर र भिडिओले यस्तै बोल्थ्यो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७ बुधबार ००:००  ९ : ३८ बजे