१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

४९ घण्टा पछि कपिलवस्तुमा कोरोना, विजयनगरमा भेटिए ९ जना



मायादेवी अनलाइन, चार नम्बर ।
वितेको दुई दिन कोरोना संक्रमित नभेटिए पनि विहीबार साँझ फेरि कपिलवस्तुमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परिक्षणका क्रममा जिल्लाको विजयनगरमा थप ९ जनामा कोरोना देखिएको हो । यसभन्दा अगाडी विजयनगरमा चार जना संक्रमित भेटिएका थिए ।

उनीहरु रामनरेश माविको क्यारेन्टाइनमा बसेका थिए । संक्रमित विजयनगर ३, ५, ७ वडाका बासिन्दा रहेको प्रतिष्ठानले जनाएको छ ।

गत मंगलबार मात्र जिल्लाको यशोधरा गाउँपालिकामा एकै पटक २४ जना कोरोना संक्रमित भेटिएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार साँझ उपलब्ध गराएको तथ्याङ्क अनुसार अहिलेसम्म ३५ सय ४८ स्वाब संकलन गरिएको छ । जसमा १९ सय ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आज थपिएका ९ जना संक्रमितको यो रिपोर्टमा नाम जोडिएको छैन ।

अझै १४ सय ८१ जनाको स्वाब परिक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । जिल्लाका १० स्थानीय तहका क्वारेनटाइनमा ६ हजार १ सय ४ जना रहेका छन । विहीबार कति जनाको स्वाब संकलन भएको छ स्वास्थ्य कार्यालय कपिलवस्तुले यो समाचार तयार पार्दासम्म अझै जानकारी गराएको छैन ।

जिल्लामा सबैभन्दा बढी कोरोनाबाट यशोधरा गाउँपालिका प्रभावित भएको छ । जहाँ ३६ जना संक्रमित भेटिएका छन । जिल्लामा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको मायादेवी गाउँपालिकामा १५ जना, वाणगंगा नगरपालिकामा १२ जना, कपिलवस्तु नगरपालिकामा ११ जना, महाराजगञ्ज नगरपालिकामा ९ जना, कृष्णनगर नगरपालिकामा ८ जना रहेका छन ।

यस्तै शिवराज नगरपालिकामा ६ जना, बुद्धभूमि नगरपालिकामा ६ जना र शुद्धोधन गाउँपालिकामा २ जना रहेका छन । जसमा ११ जना निको भएर घर फर्किसकेका छन । यता विहीबार थपिएका ९ जना गरी जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १८ पुगेको छ ।

यस्तै दाङका थप २ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पिसिआर परीक्षणमा दाङको गढवा गाउँपालिका वडा नं १ र २ का दुई जनामा कोरोना पोजिटिभ देखिएको हो । कोरोना देखिएका २८ र ४१ वर्षीय पुरुषहरु हुन् ।

पोजिटिभ देखिएका दुबै जना गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेनटाइनमा बसेको पाइएको छ ।

उता बर्दियामा विहीबार नै ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको राजापुर नगरपालिका बडा नं ६ महुवाका २९ बर्षीय एक पुरुष, वडा नं ७ शंकरपुरका ३४ बर्षिय एक पुरुष र वडा नं ९ बनियापुरका ३० बर्षीय एक पुरुष गरी ३ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् ।

संक्रमित तिनै जनालाई राजापुरमा रहेको आइसुलेसन कक्षमा राखिएको राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले जानकारी दिनुभयो । विहीबार नयाँ संक्रमित ३ जना सहित बर्दियामा कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

राजापुर नगरपालिका वडा नं. ५ कि ११ बर्षीया बालिका कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ६ : ०२ बजे