८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यस्ता छन् संघीय सरकारको बजेटमा परेका प्रदेश ५ का योजना



मायादेवी अनलाइन, कपिलवस्तु ।
संघीय सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष ०७७/०७८ को बजेटमा प्रदेश ५ का केही नयाँ र अधिकांश पुरानै योजनाहरु समावेश भएका छन् ।

सरकारले बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले विहीबार बजेट भाषणको क्रममा तिलौरोकाटलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रकृया अगाडी बढाउने बताउनुभएको हो ।

सन २०१२ देखि तिलौराकोटको उत्खनन गरिदै आएको छ । विश्व सम्पदा सूचिमा सुचिकृत बनाउन तिलौरोकाटमा भैरहेका कामलाई सरकारले उच्च प्राथमिकतामा राख्दै बजेटमा समावेश गरेको हो ।

पुरातत्व बिभागले तिलौराकोटलाई बिश्व सपदा सुचीमा सुचीकृत गराउन पाँच बर्ष अघि नै युनेस्कोमा प्रस्तावित गरिसकेको थियो ।

यस्तै अर्थमन्त्री खतिवडाले बृहत्तर लुम्बिनी क्षेत्रको गुरु योजना अगाडी बढाइने पनि बताउनुभएको छ । साथै उहाँले रामग्राम गुरुयोजना कार्यान्वयनमा ल्याइने बताउनुभयो । लुम्बिनीको ५ हजार क्षमताको ध्यान सभाहल निर्माण पूरा गर्न बजेट बिनियोजन भएको छ ।

प्रदेश राजधानीमा २५० आइसीयु बेडसहितको अस्पताल बनाउने गरी बजेट बिनियोजन भएको छ । प्रदेश राजधानीमै ५० बेडका महामारी अस्पताल बनाउन बजेट बिनियोजन गरिएको छ ।

सबै प्रदेश राजधानीमा उच्चस्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गरिने अर्थमन्त्री डा. खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । वृहत दाङ सिचाईं, भेरी बबई, रानीजमरा बर्दिया सिचाईं आयोजनालाई अघि बढाउने योजना छ । राप्तीमा जनताको तटबन्ध कार्यक्रम निरन्तरता दिइएको छ ।

नवलपरासीको धौवादीको फलामखानीमा जाने सडक निर्माण गरिने भएको छ । त्यस्तै नेपालगञ्ज र भैरहवाको सीमा क्षेत्रमा एकीकृत जाच चौकी निर्माण गरिने भएको छ । बुटवल मेडिकल कलेजको पूर्वाधार विकासका लागि बजेट छुट्याइएको छ । यो योजना चालु आर्थिक वर्षदेखि शुरु भएको हो ।

नौमुरे जलबिद्युतको लगानी ढाँचा निर्माण गरी प्रक्रिया अगाडी बढाइने छ । बुटवल गोरखपुर प्रशारण लाइन निर्माण गर्न बजेट बिनियोजन भएको छ ।

रुकुम पूर्वको सदरमुकाम पूर्वाधार निर्माणका लागि रकम बिनियोजन गरिएको खतिवडाले जानकारी गराए । बर्दिया, दाङमा बाढी पहिरोमा घरबार गुमाएकालाई सुरक्षित आवास कार्यक्रमलाई बजेट छुट्याइएको छ । बुटवलको अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रको निर्माणलाई निरन्तरता दिइएको छ ।

घोराही मुसिकोट, पोखरा रिडी सडक निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । सिद्धार्थ राजमार्गसहितका तीन सडकलाई स्तरोन्नती गर्न ५ अर्ब बिनियोजन भएको छ । बुटवल कोहलपुरसहितका क्षेत्रमा विद्युतीय रेलमार्ग निर्माण र अध्ययनका लागि आठ अर्ब बढी रकम बिनियोजन गरिएको खतिवडाले बताउनुभयो ।

गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन र टर्मिनल भवन निर्माणमा बजेट राखिएको छ । नेपालगञ्ज विमानस्थलमा टर्मिनल भवन निर्माण र दाङको नारायणपुर बिमानस्थल स्तरोन्नतीमा बजेट छुटयाइएको छ । बाँकेमा निर्माणाधिन कारागार आगामी वर्ष सकिने भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ६ : ०९ बजे