१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बेलायतको एक संस्थाले वाणगंगालाई उत्कृष्ट १ सय ठाउँको सूचीमा राख्यो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगालाई बेलायतको एक संस्थाले विश्वको उत्कृष्ट १ सय ठाउँको सूचीमा राखेको छ । नगरपालिकालाई यो कुराको जानकारी दिदै एचिभमेण्ट फोरम प्रोमिसिङ रिजन फोकस यूके (बेलायत) ले एक इमेल पठाएको छ ।

हरेक बर्ष विश्वका शहरहरुलाई उत्कृष्ट ठहर गर्दै उपाधिका लागि प्रतिस्पर्धा गराउँदै आएको एचिभमेण्ट फोरम प्रोमिसिङ रिजन फोकस यूकेले यो बर्ष वाणगंगालाई १ सय औं उत्कृष्ट ठाउँमा ठहराएको हो ।

स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा, शिक्षा र रोजगारी बढाउन प्रयत्नशिल क्षेत्र, शहर र नगरपालिकालाई एचिभमेण्ट फोरमले उत्कृष्ट ठहराउने गर्दछ । त्यसै अनुसार वाणगंगा परेको नगरपालिकाले जनाएको छ ।

उत्कृष्ट ठहर भएसंगै वाणगंगा नगरपालिका अब अवार्डका लागि प्रतिस्पर्धा गर्ने छ । अवार्डको प्रतिस्पर्धाका लागि नगरपालिकालाई छनौट गरेर एचिभमेण्ट फोरमले पत्र पठाएको नगर उप-प्रमुख चक्रपाणी अर्यालले जानकारी दिनुभयो ।

फोरमले नगरपालिकालाई इक्सिलेन्स इन सिटी मेनेजमेण्ट अन्तर्गत विश्वका उत्कृष्ट एक सयमा छनोट गरेर निवर्तमान प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीको नाममा पत्र पठाएको छ । मरासिनी हाल सिद्धार्थ नगरपालिकामा सरुवा भएर जानुभएको छ ।

अवार्डका लागि अब वाणगंगाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धाबाट विजयी भए सर्बाेत्कृष्ट सम्मानका साथ पुरस्कार पाउनेछ । जुन अवार्डले विश्वमै सुरक्षित शहर, लगानीका लागि आकर्षक गन्तब्य र पर्यटकीय महत्वको ठाउँको रुपमा परिचित दिन मद्धत मिल्ने छ । अब अवार्डका लागि के के गर्छ त्यो आवश्यक छलफलको तयारीमा नगरपालिका लागेको छ । उत्कृष्ट १ सयमा पार्ने संस्थालाई नगरपालिकाले आभार पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  १२ : ४७ बजे