२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

कपिलवस्तुका सिडियो भन्छनः लकडाउन खुकुलो भएकै छैन, कस्ले गलत बुझ्यो ?



दीपा महत, चार नम्बर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबार साँझ निकालेको विज्ञप्तिमा दैनिक दुई घण्टा (७ देखि ९ बजेसम्म) पसल खुलाउने निर्णय गरेसंगै लकडाउनलाई लिएर विभिन्न चर्चा परिचर्चा उठ्न थालेका छन । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढीरहेका बेला प्रशासनले गरेको यो निर्णयले सकारात्मक र नकरात्मक प्रतिक्रिया आइरहेका छन ।

कतिपयलाई दैनिक दुई घण्टा बजार नै खुल्ला भएको त होइन भन्ने भ्रम पनि छ । तर, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आजभोलि हप्ताको तीन दिन खुल्दै आएका पसललाई मात्र दैनिक खुल्ला गर्ने निर्णय लिइएको बताउनुभयो । अत्याश्यकीयमा पर्ने खाद्यान्न, औषधि, ग्यास तथा तरकारी बेच्ने पसललाई मात्र दैनिक दुई घण्टाका दरले खुल्ला गर्ने गरी निर्णय लिइएको प्रजिअ पौडेलले स्पष्ट पार्नुभयो । अरु पसल कुनै सञ्चालन नहुने उहाँले प्रष्टाउनुभयो ।

मायादेवी अनलाइनसंग शनिबार दिउँसो कुराकानीको क्रममा पौडेलले हप्ताको तीन दिन अत्याश्यकीय पसल खुल्ला गर्दा बढी भीडभाड भएको हुँदा दैनिक खुल्ला गरी भीड कम हुने अपेक्षासहित यो निर्णय लिइएको बताउनुभयो । जिल्लाका सरोकारवालासंगको छलफल पछि यो निर्णय लिइएको भन्दै लकडाउन यथावत् नै रहेको जनाउनुभयो ।

किन खुलाइयो बैंक तथा वित्तीय संस्था ?

बैंक तथा वित्तीय संस्थालाई दैनिक खुल्ला गर्ने निर्णय लिइएको पनि उहाँले मायादेवीसंग सुनाउनुभयो । हप्ताको तीन दिन बैंक खुल्ला गर्दा अत्यधिक भीड बढेको र लामो समय देखिको लकडाउनले आर्थिक समस्या देखिन थालेकाले बैंकलाई हप्ता दिन खुल्ला गर्ने गरी निर्णय लिइएको बताउनुभयो ।

हप्ताभर बैंक खुल्ला हुँदा सर्वसाधारण आफ्नो आवश्यकता अनुसार जाने र बढी भीड नदेखिने प्रजिअ पौडेलको विश्वास छ । ‘बैंक खुल्ला गर्नु रहर होइन बाध्यता हो । हप्ताको तीन दिन खुल्ला गर्दा जुन भीड देखियो, त्यसले लकडाउनको बेला नकारात्मक सन्देश बढी दियो । बैंकमा जानु सर्वसाधारणको बाध्यता छ । किनकी लामो समयको लकडाउनले गर्दा घरमा आर्थिक समस्या देखिन थालेको छ, यहि कुरालाई मध्यनजर गरी बैंक खुल्ला गर्ने निणय गरेका हौं उहाँले भन्नुभयो, ‘लकडाउनको पूर्ण पालना गरी अब सर्वसाधारणले बैंकिङ सेवा लिन सक्छन ।’

बैंक तथा वित्तीय संस्था सञ्चालनको भने समय नतोकिएको उहाँले बताउनुभयो । बैंकले आफ्नो आवश्यकता काम गर्न पाउने उहाँले जनाउनुभयो ।

नदीजन्य पदार्थको घाटगद्दी किन खुलाइयो ?

जिल्ला प्रशासनले यसभन्दा अगाडि नै इट्टा, रड र सिमेन्ट उद्योग सञ्चालन गर्न अनुमती दिइसकेको छ । यी उद्योग सञ्चालन गर्ने उद्योगीले मजदुरलाई पूर्ण स्वास्थ्यको ग्यारेन्टीका साथ काममा कजाउनु पर्ने हुन्छ । लकडाउनको पूर्ण पालना गरी मजदुरले यी उद्योगमा काम गर्न पाउँछन् । काम गर्दा सामाजिक दुरी अनिवार्य पालना गर्नुपर्ने हुन्छ ।

यी उद्योग चलाउन दिने निर्णय गरेपनि नदीजन्य पदार्थ बीना उद्योग चल्न नसक्ने भएपछि घाटगद्दी गरी राखिएका नदीजन्य पदार्थको ढुवानी गर्न अनूमति दिएको प्रजिअ पौडेलले बताउनुभयो । ठूला विकास आयोजनाका लागि पनि नदीजन्य पदार्थ चाहिने र इट्टा, रड र सिमेन्ट उद्योगका लागि पनि चाहिने भएर घाटगद्दी खुलाइएको उहाँले प्रष्ट पार्नुभयो । तर, घाटगद्दी बाहेक नदीजन्य पदार्थ उत्खननमा भने पूर्ण रोक लगाइएको उहाँले बताउनुभयो ।

के जिल्लामा लकडाउन खुकुलो भएकै हो त ?

कपिलवस्तुमा लकडाउन खुकुलो भएको हो त ? आम नागरिकले विभिन्न माध्यमबाट प्रश्न उठाउन थालेका छन । कोरोना संक्रमणको इपिसेन्टर बन्न थालेको कपिलवस्तुमा यो प्रश्न उठ्नु स्वभाविक हो । तर, जिल्लामा लकडाउन खुल्ला नभएको प्रशासन कार्यालयले स्पष्ट पारेको छ । नागरिकको सहजताका लागि अत्याश्वकीय पसल खुल्ला गर्ने निर्णयलाई लकडाउन खुलेको हो भनेर प्रश्न उठाउन नमिल्ने प्रशासनले जनाएको छ ।

‘हामी जिल्लाबासीको सहजताका लागि भनेर अहिलेको यस्तो बेलामा पनि कठोर निर्णय लिने, तर, यसको बुझाई ठिक उल्टो हुने भयो भने, प्रशासनले फेरि अर्को निर्णय लिन बाध्य हुन्छ, प्रजिअ पौडेलले भन्नुभयो, ‘लकडाउन पूर्ण रुपमा लागू छ, अनावश्यक बुझ्न जरुरी छैन । जसले नियम उल्लङ्घन गर्छ, उ कारबाहीको भागीदार बन्छ ।’ कसले बुझ्यो गलत कुरा ? उहाँले प्रश्न गर्नुभयो ।

जिल्लामा कोराना संक्रमित बढीरहेको भन्दै सबैलाई कलडाउनको पूर्ण पालना गर्न उहाँले आग्रह गर्नुभएको छ । खुल्ला सीमा नाकाका कारण कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेको भन्दै सबैले यो कुरा बुज्न जरुरी रहेको उहाँले सुनाउनुभयो । लकडाउन स्थानीय प्रशासनका लागि नभई आम नागरिकका लागि भएको भन्दै सबै मिलेर कोरोनालाई जित्नुपर्ने उहाँको जोड थियो ।

२० गतेपछि लकडाउन कडा हुन सक्छ !

प्रजिअ पौडेलले २० गते पछि लकडाउनबारे जिल्लामा अर्को निर्णय हुने बताउनुभयो । सरकारले २० गतेसम्म लकडाउन यथावत् राखेको र २१ गतेपछि अर्को निर्णय गर्ने भन्दै जिल्लामा पनि २१ गते पछि अर्को निर्णय हुने उहाँले जनाउनुभयो ।

आइतबार, सोमबार र मंगलबारका लागि शुक्रबार केहि सहज जीवनयापनका लागि निर्णय भएको भन्दै २१ गते पछि परिस्थिती अर्कै बन्न पनि सक्ने उहाँले बताउनुभयो । २० गते साँझ यो बारेमा बैठक बसेर आवश्यक निर्णय लिइने उहाँले प्रष्टाउनुभयो । ‘शुक्रबार भएको निर्णय सधैका लागि होइन, तीन दिनका लागि मात्र हो । २१ गतेपछि अर्को निर्णय हुन्छ, उहाँले भन्नुभयो, ‘तीन दिन हामीले गरेको निर्णय कसरी कार्यान्वय हुन्छ भन्ने हेर्छौ । अर्को कुरा कोरोनाका संक्रमितको स्थिती कस्तो हुन्छ त्यो पनि हेर्छौ, अनि त्यसै अनुसार थप निर्यण लिन्छौं ।’

प्रशासनले कोरोना संक्रमणको अवस्था हेरेर २० गतेपछि भिन्दै निर्णय लिने छ । सरकारले लकडाउनको अवस्थामा केहि फेरबदल गर्छ कि गर्दैन, त्यो निर्णय लगत्तै जिल्लाको अवस्था बुझेर छुट्टै निर्णय लिने गरी प्रशासन लागिपरेको छ । यो तीन दिने अवस्थालाई नागरिकले कसरी लिन्छन् त्यसको उदाहरण पनि प्रशासनले लिनेछ । नागरिकले लकडाउन उल्लङ्घन गर्न थाले भने लकडाउन थप कडा पनि हुन सक्ने प्रशासनका उच्च तहका कर्मचारी बताउँछन ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  २ : ३१ बजे