३० बैशाख २०८१, आइतबार | Sun May 12 2024

रुकुम पश्चिमको घटनालाई लिएर बाणगंगामा प्रदर्शन



मायादेवी अनलाइन, चार नम्बर ।
रुकुम पश्चिममा भएको नवराज विक हत्याको विरोधमा शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा विरोध प्रदर्शन भएको छ । करिब ५० जना जति स्थानीय युवा मिलेर बिभिन्न प्ले कार्डसहित बनगाई चोकमा शान्तिपूर्ण सांकेतिक प्रदर्शन गरिएको स्थानीय युवा तिलक विकले मायादेवीलाई जानकारी दिनुभयो ।

प्रदर्शनकारीहरुले सरकार अँध्यारोमा छ, उज्यालो यहाँ छ, निर्दोष दलित हत्या बन्द गर, घटनाको छानबिन गर, दोषीलाई फासी दे लगायतका प्लेकार्ड बोकर प्रदर्शनमा उत्रिएका थिए । तिलक विकको नेतृत्वमा निस्किएको टोलीले करिब आधा घण्टा प्रदर्शन गरेको बताइएको छ ।

टोली नेता विकले प्रदर्शनमा स्थानीय सबै वर्गहरु जम्मा भएको बताउँदै यो केवल सांकेतिक प्रदर्शन भएको बताउनु भयो । लक डाउनको यस परिस्थितिमा पनि अभियानमा साथ दिएकोमा सबैलाई धन्यबाद दिँदै उहाँले सरकारले दोषीलाई कारबाही गर्न आलटाल गरे आफूहरुलाई सह्य नहुने बताउनु भयो ।

यसैबीच आइतबार चार नम्बरमा पनि प्रदर्शन हुने भएको छ । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाले चार नम्बरमा विहान ८ बजे शान्तिपूर्ण प्रदर्शन गर्न लागेको समाजका अध्यक्ष गोविन्द पोख्रेलले मायादेवीलाई जानकारी दिनुभयो ।

देशका बिभिन्न स्थानमा मानव अधिकार उलंघनाका घटना बढ्दै गएकाले सरकारको ध्यानाकर्षण गराउन विरोध गर्न प्रदर्शन गर्न लागिएको पोख्रेलले मायादेवीलाई बताउनु भयो । पछिल्लो समय रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणले मानवताको धज्जी उडाएको बताउँदै यस्ता घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न देशब्यापी माग उठेको छ ।

प्रेम सम्बन्धको नाममा नवराज विक र उनका साथीको हत्यामा सिंगो गाउँ जुटी लागेको हुनाले यसको चौतर्फी भत्र्सना भइरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ७ : २१ बजे