२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

कपिलवस्तुमा कोरोनाको गतिः पहिलो ८ दिनमा ४७, पछिल्लो १६ दिनमा २ सय १८ जना संक्रमित



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
प्रदेश ५ कै कोरोनाको अर्को इपिसेन्टर बनेको कपिलवस्तुमा कोरोनाको गति निकै उच्च गतिमा बढेको पाइएको छ । विश्वभर नै एकको २, दुईको ४ र ४ को ८ गणितीय सुत्रमा फैलिरहेको कोरोनाको संक्रमण दर कपिलवस्तुमा निकै उच्च गतिमा फैलिएको पाइएको छ । वैशाख २५ गते २ जनाबाट फैलन सुरु गरेको कोरोना अहिले जेठ १७ गतेसम्म आइपुग्दा २ सय ६४ जनामा देखिसकेको छ । पहिलो ८ दिनमा ४७ जनामा कोरोना संक्रमण देखियो भने दोस्रो ८ दिनमा भने घटेको देखिन्छ । त्यसपछिको ८ दिनमा भने कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर २ सय १८ जना पुगेको छ ।

सुरुमा कपिलवस्तुको मायादेवी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि एकै हप्ताको बीचमा ३२ जनामा कोरोना देखिएको तथ्यांकले बताउँछ । वैशाख २७ गते मायादेवी गाउँपालिकामै पुनः २ जनामा कोरोना देखियो भने शुद्धोदन गाउँपालिकामा १ जना गरी तीन जनामा कोरोना संक्रमण देखियो । त्यसको ५ दिनमा वैशाख ३१ गतेसम्म आइपुग्दा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको देखिन्छ । त्यसमध्ये वैशाख २९ गते यशोधरा गाउँपालिकामा १२ जना र बुद्धभूमि नगरपालिकामा ४ गरी १६ जना, वैशाख ३० गते कपिलवस्तु नगरपालिकामा ७ वडाका ८ जनामा कोरोना देखियो भने वैशाख ३१ गते १७ जना कोरोना संक्रमित थपिएका थिए । जसमा ९ जना कृष्णनगर नगरपालिका र ८ जना कपिलवस्तु नगरपालिकाका रहेका थिए ।

त्यसपछि पछिल्लो १७ दिनमा एकैपटक कोरोनाको दर उच्च गतिमा रहेको पाइएको छ । जेठ १ गतेदेखि जेठ १७ गते शनिबारसम्म आइपुग्दा २ सय ३० जना कोरोना संक्रमित बढ्नुले कपिलवस्तुमा कोरोना निकै तीव्र गतिमा फैलँदै छ भन्ने पुष्टि हुन्छ ।

जेठ १ गतदेखि ९ गतेसम्म भने कोरोनाको दर केही सुस्त देखिन्छ । यो बीचमा जम्मा २२ जना कोरोना संक्रमित जिल्लामा थपिएका थिए । जस अनुसार जेठ १ गते बाणगंगा नगरपालिकामा १ जना, जेठ ३ गते शिवराज नगरपालिकामा ३ जना, जेठ ४ गते बाणगंगामा ६ र बुद्धभूमि २ गरी ८ जना, जेठ ३ गते मायादेवी गाउँपालिकामा ४ जना र जेठ ९ गते बाणगंगा नगरपालिकामा ५ जना कपिलवस्तु नगरपालिकामा १ गरी ६ जना कोरोना संक्रमित थपिए । कपिलवस्तु नगरमा थपिएकी १ जना तौलिहवा अस्पतालकी एक जना नर्ससमेत रहेकी थिइन ।

तर त्यसपछिको ८ दिनमा भने कोरोनाको ग्राफ सबैभन्दा उच्च देखियो । जेठ १० गतेदेखि जेठ १७ गतेसम्म कोरोना संक्रमितको संख्या ह्वात्तै १ सय ९६ पुग्यो । जुन जिल्लाबासीकै लागि खतराको संकेतको रुपमा देखिएको छ । त्यसमध्ये जेठ १६ र १७ गते एकैपटक ७७ र ५२ जनाको दरमा कोरोना संक्रमित थपिएका छन् । प्राप्त तथ्यांङ्क अनुसार जेठ १० गते ११ जना संक्रमित थसपएका थिए । जसमा ६ जना बाणगंगा, ३ जना मायादेवी गाउपालिका र २ जना बुद्धभूमि नगरपालिकाका रहेका थिए । जेठ १२ गते भने जम्मा ५ जना (३ शिवराज, १ कपिलवस्तु र १ मायादेवी) थपिए । त्यसपछिको ३ दिनमा भने फेरि कोरोना संक्रमितको संख्या बढ्यो ।

जेठ १२ गते ५ जना (३ शिवराज, १ कपिलवस्तु र १ मायादेवी १) थपिए भने जेठ १३ र १५ गते २ दिनमा ५१ जना कोरोना संक्रमित थपिएको संख्या आयो । यतिबेला जेठ १३ गते यशोधरामा मात्रै २४ जना र जेठ १५ गते विजयनगर ९ र कपिलवस्तु नगरपालिकामा १८ गरी २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

मायादेवी अनलाइनको यो तथ्याङ्क विश्लेषणले के भन्छ भने कपिलवस्तुमा कोरोना संक्रमण दर भर्खरै रोकिनेवाला छैन् । गणितको दोहोरो, तेहरो गुणन सुत्रमा बढेको कोरोनाका नयाँ विरामी थपिने क्रम जारी छ । यही संख्यामा बढ्दै जाने हो भने अबको १५ दिनमा कपिलवस्तुको स्थिति भयावह देखिन्छ ।

अहिले जिल्लाभरका क्वारेनटाइनमा हजारौँको संख्यामा भारतबाट आएका ब्यक्तिहरु छन् । धेरैको पिसीआर जाँच हुन बाँकी छ । कतिपय स्वाब संकलन भएका ब्यक्तिको पिसीआर रिपोर्ट आउन बाँकी छ । जिल्लाका केही पालिकामा समुदाय स्तरमा कोरोना फैलिएको कारण धेरैको स्वाब संकलन बाँकी छ । कपिलवस्तुका धेरै सरोकारवालाले जिल्लामा भुषको आगो झै कोरोना फैलिएको दाबी गर्दछन् । जहिलेसम्म पिसीआर जाँचको दायरा फराकिलो बन्दैन त्यतिबेलासम्म यो भुषको आगोमा सबै सल्कनु पर्ने हुन सक्ने बताईन्छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ९ : ०१ बजे