१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

वाणगंगा : दुई घण्टा खुल्ने भनिएका पसल विहानभर खुल्ला, श्रृङ्गार देखि कपडा पसलसम्म सञ्चालन !



मायादेवी अनलाइन, चार नम्बर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आइतबार (आज) देखि दैनिक दुई घण्टा अत्यावश्कीय खाद्यान्न पसल खुलाएको छ ।

जेष्ठ २० गते मंगलबारसम्मका लागि प्रशासनले विहानको दुई घण्टा पसल खुलाउने निर्णय गरेको हो । तर, प्रशासनले अत्यावश्कीय खाद्यान्न पसल मात्र खुलाउने भने पनि वाणगंगा चार नम्बर बजारमा अरु पसल पनि खुलेको पाइएको छ ।

यहाँका कपडा पसल, श्रृगार पसल लगायत बेचविखन गर्ने व्यवसायीले आइतबार पसल खोलेका हुन् । जुन प्रशासनले भनेको नीति विपरित हो ।

मानिसको जनजीवन सहज बनाउनका लागि अत्यावश्कीय पसललाई दुई घण्टा खुलाउने भनेपनि यो समाचार तयार पार्दासम्म १० बजेसम्म पसल खुल्ला नै छन । सुरक्षाकर्मी बजार क्षेत्रमा नदेखिएकाले कति समयसम्म बजार खुल्ला हुने हो भन्न सकिने अवस्था छैन ।

विहानको अवधिमा सुनसान जस्तो बन्ने चारनम्बर बजार आइतबार विहान चहलपहल थियो । मानिसहरु जम्मा हुने, सवारी चलाउने र किनमेल गर्नेहरु पनि बाग्लै देखिन्थे ।

कपिलवस्तु शनिबारसम्म २ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । शनिबार मात्र एकै पटक ७७ जनालाई जिल्लामा कोरोना भाइरस देखिएको थियो । संक्रमणदरमा बृद्धि भएसंगै जिल्ला कोरोनाको इपिसेन्टर बन्न लागेको हो ।

यो बेला लकडाउनमा कडाई गर्दै आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउनुपर्ने देखिन्छ । तर, अढाई महिना बढीको लकडाउनले जनजीवन प्रभावित भएकाले लकडाउन केहि खुकुलो बनाइएको प्रशासनले जनाएको छ ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आगामी तीन दिने अवस्था हेरेपछि लकडाउनबारे थप निर्णय लिइने मायादेवी अनलाइनलाई बताउनुभयो । ‘अबका तीन दिन जनजीवन सहजताका लागि अत्यावश्कीय पसल दुई घण्टा खुलाउने निर्णय गरेका हौं । यो बीचमा बैंकहरु पनि खुल्छन, प्रशासन स्रोतले भन्यो, ‘आगामी जेष्ठ २० गते पछि लकडाउन कस्तो बनाउने भन्ने निर्णय हुन्छ ।’

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  १० : ३९ बजे