२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

किन हुँदैन कपिलवस्तुमा लकडाउनको पालना ? वाणिज्य बैंक चारनम्बर अगाडि यो जात्रा ! (भिडियोसहित)



मायादेवी अनलाइन, चार नम्बर ।
सामाजिक दुरी कायम गर्ने गरी सरकारले लकडाउन खुकुलो बनाएको छ । असार १ गते देखि देशभर लकडाउन खुकुलो भएको हो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अढाई महिना बढी लकडाउन कायम राखेको थियो । तर, लामो समयको लकडाउनले मानिसको जनजीवन प्रभावित बनेको भन्दै असार १ गतेदेखि सरकारले लकडाउन खोलेको हो ।

देशका ७७ जिल्ला मध्ये कपिलवस्तु कोरोना संक्रमणको हिसाबले सामान्य स्थितिमा छैन् । देशमै सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तुमा रहेका छन् । कोरोनाको उच्च जोखिममा यस जिल्ला छ । तर, कोरोनाको जोखिम हुँदा हुँदै सरकारले लकडाउन खुकुलो बनाएपछि जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ । आजभोलि जिल्लाका मुख्य मुख्य बजारमा मानिसहरुको चहलपहल बाक्लै देखिन थालेको छ । लकडाउन हुनु पूर्वको जस्तै परिवेश अहिले कपिलवस्तुमा छ ।

बजारमा आउने अधिकांश सर्वसाधारणले माक्सको प्रयोग नै गरेको देखिदैन् । अधिकांश हात छोपेर हिडेका भेटिन्छन । सामाजिक दुरी जिल्लामा एकादेशको कथा छ । सरकारले भनेका कुनैपनि मापदण्ड जिल्लामा कार्यान्वयन हुन सकेको छैन् ।

दुई सय बढी कोरोना संक्रमित देखिएका कपिलवस्तु सहितका चार जिल्लामा लकडाउन पूर्ववत रुपमा हुने सरकारले भने पनि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यसको आदेश जिल्लामा अझै आइनसकेको बताउँछ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले लकडाउन कडा पार्ने गरी केन्द्रबाट कुनै आदेश नआएको बताउँनुहुन्छ ।

सामाजिक दुरी कायम गर्ने र माक्स अनिवार्य लगाउने सरकारले भने पनि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यसको अनुगमन नगर्दा सर्वसाधारणले उल्लङ्घन गर्ने मौका पाएका हुन् । बजारका चोक-चोकमा सुरक्षाकर्मी देखिएपनि उनीहरुले लकडाउन उल्लङ्घनबारे नियमन नै गर्दैनन् । प्रशासनले स्पष्ट निर्देशन नदिएकाले लकडाउन उल्लङ्घन गर्नेमाथि कुनै कदम चाल्न नसकेको एक सुरक्षाकर्मीले मायादेवीलाई बताए ।

कपिलवस्तु उद्योग वाणिज्य संघले कोरोना जोखिम न्यूनिकरण गर्न भन्दै विहान ११ देखि दिउँसो २ बजेसम्म मात्र पसल, व्यवसाय सञ्चालन गर्न भनेको छ । संघको यो निर्णयलाई वाणगंगा आसपासका व्यवसायीले कार्यान्वयन गरेको भएपनि चन्द्रौटा, कृष्णनगर, तौलिहवा, पकडी लगायतका मुख्य बजार र बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढी भीडभाड देखिने गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक चारनम्बरमा सबैभन्दा बढी भीड देखिने गरेको छ । बैंकले आफ्नो नियमित सेवा विहान १० बजेदेखि ३ बजेसम्म सञ्चालन गरेपछि सेवाग्राहीको भिड हुने गरेको हो । बैंकको सेवा लिन आएका मोर्मीका मिन बहादुर शाहीले आफु विहानै देखि बैंकको सेवा लिन लाइन लागेको बसेको बताउनुभयो । बैंकमा रहेको रकम झिक्क आउनुभएका शाहीले कोरोनाको त्रास भएपनि बाध्यताले लाइनमा बसेको बताउनुभयो । बैंकले आफ्नो सेवा कम गरेको कारण यस्तो गर्नु परेको उहाँले बताउँनुहुन्छ ।

यता वाणगंगा बैंकर्स क्लवले असार १ गतेदेखि बैंकिङ सेवालाई पहिला जस्तो नियमित गरेको जनाएको छ । क्लवका अध्यक्ष अनुराग पाण्डेले सर्वसाधारणको चाप बढेको र सरकारले लकडाउन खुकुलो पारेको कारण सेवालाई पूर्ववत समयमा लगेको बताउँनुहुन्छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  १ : ०१ बजे