१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कपिलवस्तुका नयाँ एसपी अधिकारी, २ पटक ‘प्रहरी सेवा उत्कृष्ट पुरस्कार’ पाएको छवि



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गर्दा कपिलवस्तुका एसपी दीप शमशेर जबराको पनि सरुवा भएको छ । उहाँको सरुवासंगै जिल्लाको प्रहरी नेतृत्व अब एसपी नवराज अधिकारीले गर्नुहुने भएको छ ।

सरुवा भएका ३६ जनामध्ये १६ जनाले जिल्ला प्रमुखका रुपमा जिम्मेवारी पाएकोमा यसमा नवराज अधिकारी पनि पर्नुभएको हो ।

कपिलवस्तु भारतीय सिमासंगै जोडिएको अति संवेदनशिल, बिभिन्न हिंसात्मक र आपराधिक गतिविधि भइरहने भएकाले यहाँको शान्ति सुरक्षामा सर्वसाधारणले धेरै प्रश्नहरु राख्ने गर्दछन् । त्यसैले प्रहरी नेतृत्व फेरिँदा कपिलवस्तुका सर्वसाधारणदेखि राजनैतिक दल, संघ संस्थाका प्रमुख इत्यादिले पनि धेरै चासो राख्ने गर्दछन् ।

अधिकारीको विगत
संक्षेपमा अधिकारीलाई बुझ्दा सक्षम नेतृत्व देखिन्छ । इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गर्नुभएका अधिकारीले १९ बर्षे अवधिमै एसपीसम्म बढुवा भइसक्नु भएको छ ।

यो अवधिमा उहाँले प्रहरी सेवामा काम मात्र गर्नु भएन २ पटकसम्म नेपाल प्रहरीले प्रदान गर्ने ‘प्रहरी सेवा उत्कृष्ट पुरस्कार’ समेत पाइसक्नु भएको छ । काठमाण्डौँको कालीमाटीमा प्रहरी कमाण्ड सम्हाल्दा सो पुरस्कार पाएको अधिकारीको छवि छ । उहाँले अर्थशाष्त्रमा एम एसम्मको अध्ययन सकिसक्नु भएको छ ।

कंचनपुरबाट स्थायी रुपमा काठमाण्डौँ बसाई सर्नुभएका अधिकारीले यस अगाडी दार्चुलामा पनि प्रहरीको सफल नेतृत्व गरिसक्नु भएको छ । काठमाण्डौँ भिभिआइपी सुरक्षा गर्नेको इन्चार्जसमेत भएर काम गर्नुभएका उहाँले सुरक्षा सेवा निर्देशनालय नक्सालमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको समाचार श्रोत छ । यस्तै अन्य महत्वपूर्ण स्थानमा पनि शान्ति सु-ब्यवस्थाको जिम्मेवारी कुशल ढंगले पुरा गर्नुभएको बुझिन्छ ।

यस हिसाबले अधिकारीलाई अब जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई थप चुस्त दुरुस्त बनाउने थप जिम्मेवारी हुने छ । जिल्लाबासीले पनि उहाँलाई अब फरक ढङ्गबाट निश्चित रुपमा बुझ्ने छन् । पछिल्ला समय जिल्लामा बिभिन्न हत्या, हिँसा, बलात्कार, लागु औषध कारोबारीका घटनाहरु भइरहेका छन् ।

ती घटनामा संलग्नहरु कतिपय अहिले पनि थुनामा छन् । ती घटना र संलग्नहरुको उचित अनुसन्धान गरी दोषीहरुलाई कानुनी कठघरसम्म पुर्याउनु उहाँको अब प्रमुख दायित्व हुने छ । नदीजन्य पदार्थको दोहन, बन जंगलको चोरी तस्करी आदिमा पनि उहाँको भूमिका कस्तो हुने हो यसैमा उहाँको अग्नी परीक्षा हुने छ ।

आशा गरौँ, विगत्को आफ्नो छविलाई डगमगिन नदिने गरी उहाँले कपिलवस्तु जिल्लामा उत्कृष्ट ढंगबाट प्रहरी नेतृत्व सम्हाल्नु हुने छ । उहाँको स्वागतसंगै मायादेवी अनलाइन र रेडियोको तर्फबाट सफल कार्यकालको शुभकामना !

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ११ : ०७ बजे