१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेपाल बैंक लिमिटेडको शाखा वाणगंगामा, आजबाट कारोबार सुरु



मायादेवी अनलाइन ।
नेपाल बैंक लिमिटेड वाणगंगा शाखाले आजदेखि आफनो कारोबार शुभारम्भ गरेको छ । वाणगंगाको चारनम्बरमा १ सय ८४ औं नयाँ शाखाको रुपमा स्थापना भएको नेपाल बैंक लिमिटेडले कारोबार शुरु गरेको हो । प्रदेश साँसद विष्णु पन्थीको उक्त बैंकमा नयाँ खाता संचालन गरेर नेपाल बैंक लिमिटेडले कारोबार शुरु भएको जनाएको छ । साँसद पन्थीले वाणगंगामा नेपाल वैंक लिमिटेडको शाखा संचालन गर्न विगतदेखि नै पहल गर्दै आवश्यक प्रकृया अघि बढाउनु भएको थियो ।
सरकारी स्वामित्वको नेपालकै पहिलो बैंकको रुपमा रहेको नेपाल बैंक लिमिटेड वाणगंगा शाखा संचालनमा आउदा यस क्षेत्रका व्यवसायी तथा ग्राहक बर्गमा खुशी छाएको युवा व्यवसायी टोपनारायण वेल्वासेले बताउनुभयो ।
काठमाण्डौंको भुगोलपार्कमा केन्द्रिय कार्यालय रहेको नेपाल वैंक लिमिटेडको वि.स. १९९४ कार्तिक ३० गते स्थापना भएको थियो । ५ नम्बर प्रदेशका सवै जिल्लामा शाखा भएको एक मात्र नेपाल बैंक लिमिटेडले ग्राहक वर्गलाई सरल र सस्तोदरमा नयाँ नयाँ स्कीम सहित कर्जा प्रवाह गरिरहेको बैंकका प्रदेश प्रमुख पासाङ्ग दोर्जी शेर्पाले बताउनुभयो । उहाँले व्यवसायिक कारोबार, रेमिटान्स, सरकारी कारोबार, राजश्व संकलन, नेपाल सरकारको कर्मचारी पेनसन भुक्तानी लगाएतको अन्य वैकिङ्ग सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।
बैंकले आफनो शाखा मार्फत विभिन्न खालको सहुलियत कर्जा प्रवाह गर्दै आएको छ । कृषि तथा महिला सहुलियत कर्जाबाट महिला उद्यमी लाभान्वित हुनेगरी ३.४९ देखि ४.४९ प्रतिशत सस्तो व्याजदरमा कर्जा प्रवाह गर्ने शाखा प्रमुख प्रकाश रानाले जानकारी दिनुभयो ।
सोही अवसरमा कोभिड १९ का कारण कपिलवस्तु जिल्ला अति प्रभावित भएको भन्दै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोगमा स्थानीय संस्थालाई १ लाख समेत सहयोग गरेको प्रदेश प्रमुख शेर्पाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ४ : ०० बजे