२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बैङ्कहरुको दैलोमा ब्यवसायीको सिट्टी जुलुस, माग पुरा नभए तालाबन्दी गर्ने धम्की !



दीपा महत, कपिलवस्तु ।
लक डाउनको मारमा परेर करोडौँको कारोबार गुमाएका बाणगंगाका उद्योगी ब्यवसायीले बैङ्कहरुको दैलोमा मंगलबार सिट्टी जुलुस निकालेका छन् । उद्योगी ब्यवसायीको समस्यामा राज्य बेखबर बनेको भन्दै खबर सुनाउन संघको कार्य क्षेत्र भएर काम गर्ने बैङ्कहरुको अगाडी चर्को घामको विचमा प्रतिकात्मक रुपमा सिट्ठी जुलुस निकालेका हुन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघले नेतृत्व गरेको जुलुसमा प्रतिनिधि ब्यवसायी भेला भएर सिट्टी फुक्दै समस्याबारे बैङ्क संचालकको ध्यानाकर्षण गराएका थिए । करोडौँ लगानी गरेका ब्यावसायी लक डाउनका कारण टाँट पल्टेको, आर्थिक मन्दी सुरु भएको, विहान साँझ हातमुख जोर्न समेत धौधौ हुने अवस्थामा पुगेको हुनाले धेरै गर्न नसके पनि बैङ्कहरुको साँवा, क्रण र ब्याजमा छुट गर्न सक्नु पर्ने माग राख्दै केहीबेर सिट्ठी फुकिएको थियो ।

ब्यापारी, ब्यवसायीका कारण बैङ्कहरुले करोडौँ नाफा आर्जन गरेको स्मरण गर्दै अहिले किन बैङ्कका संचालक ब्यवसायीको समस्यामा मुख टालेर बसेका छन् ? भन्दै संघका अध्यक्ष उमानाथ पौडेलले प्रश्न गर्नु भएको छ । उहाँले तुरुन्त यस तर्फ ध्यान दिन आग्रह गर्दै परिस्थिति सहज हुने वित्तिकै फेरि आफूहरुले सहयोग गर्ने स्थिति आउनेतर्फ ध्यानाकर्षण गराउनु भएको थियो ।

जुलुसमा सहभागी संघका प्रदेश सदस्य यज्ञ भट्टराई, पूर्व अध्यक्ष विष्णु न्यौपाने, सल्लाहाकार टोपनारायण बेलबासे लगायतले कठिन परिस्थिति भएकै कारण ब्यवसायी सडकमा उत्रनु परेको भन्दै अन्य समयमा ब्यापारी ब्यावसायीले कति ब्याज तिरेर बैङ्कलाई बचाए ? कति लगानी गरे ? त्यतातर्फ पनि ध्यान दिन संचालकहरुलाई विशेष आग्रह गर्नुभयो ।

लकडाउनको अवधिभर बैंकले प्रदान गरेको सबै शीर्षकका ऋृणहरुको बाँकी सावा ब्याज बुझाउने म्याद थप्नुपर्ने, छुट दिनु पर्ने भन्दै संघले असार १४ गते वित्तिय संस्था मार्फत सरकारलाई ज्ञापन पत्र पेश गरेको थियो । तर अहिलेसम्म ती मागमा सरकार बेखबर छ । त्यही भएर पनि जिल्लाजिल्लामा रहेका ब्यावसायिक संघ संगठनले यस्ता कार्यक्रम गर्न बाध्य भएका छन् । समयमै आफ्ना माग पुरा नभए असार २१ गते सम्पूर्ण बैङ्कहरुमा तालाबन्दी गर्ने चेतावनी दिँदै संघले आन्दोलन थप चर्काउने बताएको छ ।

कार्यक्रममा सल्लाहाकार दुनिका भुषाल, उपाध्यक्षत्रय हुमानाथ पौडेल, छवि रेश्मी, टोप नारायण भण्डारी, महासचिव लक्ष्मण अधिकारी, सचिव मनोज पौडेल, कोषाध्यक्ष मोहन न्यौपाने, सह कोषाध्यक्ष कृष्ण गैरे, डोलकराम घिमिरेसहित उद्योगी ब्यसायीको सहभागिता रहेको थियो । उनीहरु सबैले आफूहरुको माग सम्बोधन नभए झन् कडा कदम चालिने चेतावनी दिएका छन् । अहिले बैङ्कले भनेको समयमा कुनै रकम तिर्न नसकिने भन्दै जस्तो लडाई लड्न पनि आफूहरु तयार रहेको मायादेवी संग बताए ।

ब्यवसायीको छातीमा लकडाउन अवधिभरको ब्याज छुट गर, लक डाउनको किस्ता मर्ज गर, कर्जा चुक्ताको लागि पुनः तालिकीकरणको ब्यवस्था गर लगायतका प्ले कार्ड टाँसिएको थियो ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ७ : १६ बजे