१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चन्द्रा अर्यालको अध्यक्षतामा मेची महाकाली बुहारी आवाज कपिलवस्तु गठन



मायादेवी अनलाइन, चार नम्बर ।
महिला अधिकारको लागि काम गर्ने संस्था मेची महाकाली बुहारी संयुक्त आवाज कपिलवस्तुको अध्यक्षमा चन्द्रा अर्याल चयन हुनुभएको छ । असार १ गते कपिलवस्तुकी चेली सुस्मिता थापाको हेटौँडामा हत्या भएपछि कपिलवस्तु स्तब्ध भएको हुनाले यस जिल्लामा पनि मेची महाकाली बुहारी संयुक्त आवाज गठन भएको हो ।

समाजमा थुप्रै महिला हिंसाका घटना भए पनि ती सबै लुकेका हुनाले अब घरघरमा हुने हिंसा र यातनालाई सार्वजनिक गर्न संस्था गठन गरिएको केन्द्रिय प्रवक्ता मञ्जु खाँणले मायादेवी अनलाइनसंग बताउनु भयो ।

देशभर शाखा विस्तारको क्रममा रहेको यस संस्थाले सुस्मिता हत्यापछि शोकमा डुवेको परिवारको न्यायको लागि पनि आवाज उठाउन थप बल जुटाउन कपिलवस्तुमा विशेष रुपमा काम गर्ने छ । खाँणका अनुसार अब जिल्लाका हरेक पालिका र अन्यसंस्थासंग समन्वय गरेर विशेष गरी बुहारी बनेर पीडा सहेकाको आवाज बोल्ने बताउनु भयो ।

झट्ट हेर्दा बुहारीको आवाज मात्र बोल्ने भन्ने अर्थ लागे पनि बुहारी नारीको एक प्रतिनिधि भएका कारण हरेक नारीको हक अधिकारको लागि संस्थाले काम गर्ने खाँणले प्रष्ट पार्नुभयो । अहिलेको लागि अध्यक्ष, उपाध्यक्ष र सचिव चयन गरेको र बाँकी सदस्य यही सदस्यले चुन्न पाउने गरी समिति गठन गरिएको छ ।

अहिले सुस्मा खाँण उपाध्यक्ष र अंजु घिमिरे सचिवमा चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष चन्द्रा अर्यालले सुरुमा संस्थालाई संगठित गर्ने र गाउँगाउँमा जनचेतनामुलक कार्यक्रम लिएर जाने बताउनु भएको छ । उहाँले छिटै संगठनलाई पूर्ण बनाउने पनि मायादेवी अनलाइनलाई बताउनु भयो ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  ५ : ३३ बजे