१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

“अनलाइन कक्षाका बारेमा गलत प्रचार नगरौँ !”



सरिष्मा मिश्र ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ को महामारीले विश्वलाई नै तहसनहस बनाएको छ । हामी सबै यसबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छौँ । लामो समयसम्म भएको लकडाउनका कारणले शिक्षण संस्था, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसायलगायत सबै क्षेत्रमा गम्भीर असर परेको छ । सबै क्षेत्रमा निकै ठूलो हानि पुगेको छ । मानिसको दैनिक जीवन नै निकै कष्टकर बनेको छ ।

यस्तो कठिन र विषम परिस्थितिमा तमाम विद्यार्थीहरू शिक्षाको ज्योतिबाट वञ्चित हुनुपरेको छ । तर म भने यस अर्थमा आफूलाई भाग्यमानी ठान्दछु कि देशका सबै शिक्षण संस्थाहरू बन्द हुँदासमेत हाम्रो विद्यालयले हामीलाई नियमित रुपमा अनलाइन कक्षामार्फत सिकाइरहेको छ। अनलाइन कक्षाका बारेमा विभिन्न टीकाटिप्पणीहरू भएका छन् । कतै यसको प्रशंसा गरेको देखिन्छ भने कतै आलोचना१ यस्तो कठिन र विषम परिस्थितिमा पनि अनलाइनमार्फत सिकाउन खोज्नु पक्कै पनि गलत कुरा होइन । विद्यालयले गरेको यस कार्यबाट हामी विद्यार्थीलगायत सम्पूर्ण अभिभावकहरू लाभान्वित हुनुका साथै खुसी छौँ । अहिले विशेष गरेर सामाजिक सञ्जाल र मिडियाहरूमा टिप्पणी र आलोचना गर्न थालिएको छ कि यो केवल निजी विद्यालयहरूले ‘फिस’ उठाउनका लागि गरेको नाटक हो र यसबाट उपलब्धिपूर्ण सिकाइ हुँदैन भनेर । तर मेरो आफ्नो अनुभवमा नियमित कक्षा र अनलाइन कक्षामा कुनै अन्तर पाएकी छैन । आदरणीय गुरु-गुरुमाहरूले झन् बढी मिहिनेत गरेर पढाउनुभएको छ । स्लाइड र भिडियोबाट सिकाउनुभएको छ । पाठ्यपुस्तकमा मात्र सीमित नरहेर व्यवहारिक र जीवन जगतका कुरा सिकाउनुभएको छ । घोकेर होइन कि गरेर र खोजेर सिक्न प्रेरित गरिरहनुभएको छ । स्लाइड र विभिन्न प्रकारका लिखित सामग्रीहरू हेरेर पढ्न र सिक्न पाउँदा हाम्रो सिकाइ अझ बढी प्रभावकारी भएको महसुस भएको छ। त्यसैले अनलाइन कक्षाको विरोध गर्नुभन्दा यस्तो विकराल अवस्थामा पनि सिकाइ क्रियाकलापलाई निरन्तरता दिनु प्रशंसनीय कार्य हो ।

म हरेक दिन बिहान ५ बजे उठ्छु । आफ्नो नित्यकर्म सकेर ७ बजेदेखि सुरु हुने कक्षाका लागि तयार हुन्छु । विद्यालयले हामीलाई शनिबारबाहेक हरेक दिन बिहान ७ बजेदेखि १२ बजेसम्म नियमित कक्षाहरू सञ्चालन गर्दछ । हामी भिडियोमार्फत प्रत्यक्ष हेराहेर गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन्छौँ । गुरु-गुरुमाहरूले उदाहरणसहित हरेक विषयवस्तुलाई सरल तरिकाले बुझाउनुहुन्छ । हामी पनि प्रश्न र उत्तरका माध्यमबाट सिक्दै जान्छौँ । नोट बनाउँछौँ । नजानेका र नबुझेका कुराहरूलाई प्रत्यक्ष रुपमा सोधेर प्रष्ट हुन्छौँ । गुरु-गुरुमाहरूले गृहकार्य दिनुहुन्छ । हामीले नियमित रुपमा गृहकार्य गर्छौँ । हामीले गरेको गृहकार्य मेलमार्फत सम्बन्धित विषयका विषय शिक्षकहरूलाई पठाउँछौँ । उहाँहरूले परीक्षण गरेर कहाँ गल्ती – कमजोरी छन् तिनलाई मेलमार्फत नै औँल्याइदिनुहुन्छ । अनलाइन कक्षाका कारणले गर्दा हामी प्रविधिसँग झन् बढी परिचित भएको महसुस गरेका छौँ । पहिले-पहिले घरमा बसेर नै अनलाइन कक्षाबाट पढ्न सकिन्छ भन्ने कुरा सुन्दा अनौठो लाग्थ्यो तर आज आफैँले प्रत्यक्ष अनुभव गर्न पाउँदा औधी खुसी लागेको छ ।

हामी सबैले अनलाइन कक्षाका बारेमा भएका गलत प्रचारका बारेमा राम्रोसँग बुझ्नु जरुरी छ । प्रत्यक्ष अनुभव गरेका विद्यार्थी र अभिभावकले मिडिया र सरकारलाई बुझाउन जरुरी छ । यस्तो सङ्कटका समयमा पैसा मात्र सबथोक नभई सिक्न पाउनु पनि महत्त्वपूर्ण कुरा हो भनेर बुझ्न र बुझाउन जरुरी छ । हामीले २१ औँ शताब्दीको सूचना र प्रविधियुक्त सिकाइलाई आत्मसात् गर्न जरुरी छ । विद्यालयले पनि अभिभावकलाई परेको आर्थिक सङ्कट र कष्टपूर्ण दैनिकीलाई ख्याल गरेर यसलाई कसरी समायोजन गर्ने र शिक्षक कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझेर पढाएअनुसारको तलब भत्ता प्रदान गर्ने विषयमा सबैको ध्यान पुग्नुपर्दछ । नियमित कक्षा र अनलाइन कक्षामा कुनै अन्तर नभएपछि यसका बारेमा अनावश्यक आलोचना मात्र गर्दा शिक्षकहरूलाई नकारात्मक असर पर्न सक्ने भएकाले यस विषयमा गहन रुपमा छलफल गर्नुपर्ने देखिन्छ ।

त्यसैले कठिन परिस्थितिलाई बुझेर हामीले अनलाइन कक्षाका माध्यमबाट अधिकतम लाभ लिन सक्नुपर्दछ । यसले हामी विद्यार्थीलाई धेरै ठूलो टेवा पुर्‍याएको हुँदा मेरो विचारमा अनलाइन कक्षा निकै उपयोगी र उपयुक्त छ र यसलाई परिस्थिति सहज नहुँदासम्म निरन्तरता दिनुपर्दछ ।

(यस लेखको लेखक मिश्र भ्याली पब्लिक माध्यमिक विद्यालय काठमाडौंमा कक्षा १० मा अध्ययनरत बिद्यार्थी हुन ।)

प्रकाशित मिति : ९ श्रावण २०७७ शुक्रबार ००:००  ७ : १९ बजे