रेडियो   टिभी

हुलाकी सडक क्षेत्रमा परेका संरचना हटाउने समय ३ दिन थप, त्यस पछि डोजर चलाइने !


मायादेवी अनलाइन, तौलिहवा ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई नरोक्न आदेश दिए पछि कपिलवस्तु नगरपालिकाले सडकमा परेका संरचना हटाउन फेरि ३ दिनको समयसिमा दिएको छ ।

मंगलवार नगरपालिकाले सुचना जारी गर्दै हुलाकी सडकको जमुहारदेखि छोटकी तौलिहवाको मस्जिदसम्म तथा बहादुरगंज जाने चोकदेखि भिक्षु चोकसम्मको सडकमा पर्ने संरचना खाली गर्न समयसिमा दिएको हो ।

अदालतले समेत काम नरोक्न आदेश गरकाले ३ दिन भित्र संरचना हटाउन आग्रह गरिएको छ । अटेर गरिए डोजर लगाएर भत्काइने समेत चेतावनी दिइएको छ । सडक क्षेत्रमा परेका संरचनाहरु अधिकांशले हटाउन सूरु गरी सकेका छन् । केहीले मात्र अझैसम्म सुरसार गरेका छैनन् ।

जमुहारदेखि छोटकी तौलिहवासम्मको २३ सय ४० मिटरमा २ सय ७३ तथा जमुहार देखि भिक्षु चोकसम्म ५ सय ८३ वटा संरचना सडक क्षेत्र भित्र परेको नगरपालिकाले जनाएको छ ।

गत असार २५ गते हुलाकी सडकको कामलाई तीब्रता दिन प्रशासन कार्यालयमा सर्वपक्षिय निर्णय भएको थियो । सोही निर्णयका आधारमा पहिलो पटक एक साता भित्र संरचना हटाउन समयसिमा दिइएको थियो ।

असार ३ गते सरकारी र असार ४ गते निजी क्षेत्रका संरचना डोजर लगाएर भत्काइएको थियो । सो कार्य रोक्का गर्न स्थानीय कालीपद शर्मा, रोहित कुमार उपाध्याय र सुरेश शर्माले अदालतमा रिट दायर गर्नुभएको थियो ।

कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले घरबारबिहीन हुनेहरुलाई ५ धुर जग्गा दिने र सडक ऐन २०३१ अघि बनेका संरचनाका बिषयमा क्षतिपूर्ति उपलब्ध गराउनका लागि प्रशासन कार्यालयमा निर्णय समेत गरिएको बताउनुभयो ।

अबको ढाई बर्ष भित्र हुलाकी सडक निर्माण गर्न पनि कामलाई तीब्रता दिनु पर्ने बताए । हुलाकी सडक निर्माणमा सहयोग र साथ दिन मेयर सिंहले नगरबासीहरुमा अपील समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस