रेडियो   टिभी

८ दशक पुरानो मालमोत कार्यालय कपिलवस्तुको भवन जीर्ण, बनाउने सुरसार छैन्


मायादेवी अनलाइन, तौलिहवा ।
राणा शासनकालमा बनेका तौलिहवास्थित मालपोत तथा भूमि सुधार कार्यालयका भवन जीर्ण भई भत्कने अवस्थामा पुगेको छ । मालपोतमा ४ वटा भवन छन् । त्यसमध्ये बीचमा रहेको भवन भत्किने अवस्थामा पुगेको हो ।

मर्मत अभावमा पूर्व–पश्चिम तथा उत्तर तर्फमा रहेको भवन पनि पानी चुहिने गरेको छ । लगातार दुई सताको बर्षाले बीचको भवनको ईट्टा उप्किएका छन् । भत्किन लागेको सो भवनमा मुद्धा फाटको काम गर्ने गरिएको छ । मालपोतको भवन जीर्ण र भत्किन लागकाले मुद्धा फाटको काम नै प्रभावित भएको मालपोतका कर्मचारीहरु बताउँछन ।

आठ दशक पुरानो भवन भत्किन लाग्दा मुद्धा फाटको काम नै प्रभावित भएको मालपोत कार्यालयका प्रमुख ऋषिराम पौडेलले बताए । ‘लगातार दुई साता देखि बर्षा जारी छ भवनमा पानी चुहिएको छ, बीचको भवन त भत्किन लागेको छ’ कार्यालय प्रमुख पौडेलले भने, ‘भवन जीर्ण हुँदा अहिले मुद्धा फाटका काम नै नराम्ररी प्रभावित भएको छ ।’

लकडाउन खुले पछि कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । भत्किनै लागेको पुरानो भवन देखेर कर्मचारी मात्र होइन सेवाग्राही समेत डराउने गर्छन । बीचको भवनको झ्याल ढोका समेत पुरानो हुँदा मालपोतका श्रैस्ता बचाउनै मुस्किल भएको कर्मचारी गुनासो गर्छन ।

‘भवन त भत्किन लागेको छ पानी चुहिएकाले श्रैस्ता बचाउन पनि गाह्रो परेको छ’ कर्मचारीहरु गुनासो गर्छन । एक बर्ष अघि पश्चिम तर्फको कार्यालय प्रमुख कक्षमा बिद्युत सर्ट भई आगलागी भई क्षतिग्रस्त बनेको भवन अहिले पनि उस्तै हालतमा छ ।

मालपोतको भवन जीर्ण हुँदा भत्किएर दुर्घटना हुने खतरा भएको लेखापढी ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष बिष्णु मुराउले बताए । जीर्ण बनेको भवन मर्मत नगरिदा दुर्घटना हुन सक्ने भए पनि त्यसको मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उनले गुनासो गरे ।

दरबन्दीको आधा कर्मचारीले काम चलाईरहेका बेला भवन समेत जीर्ण हुँदा कामकाजमा समस्या आएको प्रमुख पौडेल बताउँछन । चालु आर्थिक बर्ष देखि मालपोतका काम स्थानीय तहलाई हस्तान्तरण गर्ने सरकारी योजना अुनसार काम अघि बढेको छ । यस्तोमा भवन जीर्ण हुँदा त्यसमा पनि असर परेको पौडेलले बताए । भवन मर्मतका लागि बजेट बिनियोजन नगरिदा समस्या परेको उनले गुनासो गरे । ‘जीर्ण भवन मर्मतका लागि बारम्बार बजेट माग गर्यौ तर कहिल्यै सम्बोधन गरिएन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस