६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपिलवस्तुमा चैत्र ११ कै लकडाउनः सबै पसल बन्द, निजी सवारी सञ्चालनमा निषेध !



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा गत चैत्र ११ गतेकै लकडाउन जारी गरिएको छ । जिल्लामा कोरोना भाइरसका संक्रमित समुदायस्तरमा बढ्न थालेपछि बढ्दो जोखिम न्यूनिकरणका लागि लकडाउन जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम सोमबार राति १२ बजेदेखि साउन ३२ गतेसम्म जिल्लामा लकडाउन जारी गरेको हो ।

जिल्लामा लकडाउन जारी भएसंगै अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द भएका छन् । जिल्लाभित्रका सम्पूर्ण पसल पूर्ण रुपमा बन्द भएका छन् भने नीजि सवारी साधन चल्न पाउने छैनन् । यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ ।

यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ ।
जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द भएका छन् ।

अब दैनिक अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, एम्बुलेन्स, शववाहन जिल्लामा सञ्चालन हुन पाउनेछन् । तर, राजमार्ग भएर गुड्ने सवारी साधनहरुमा पूर्णरुपमा रोक नलागे पनि जिल्ला भित्र ओर्लिन र चढ्न भने पाइने छैन् ।

अत्यावश्कीय खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक विहान ८ बजेदेखि १० बजेसम्म समय छुट्याइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७ सोमबार ००:००  ५ : ३२ बजे