७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सडक–२ को ट्रेलरमा ‘डिस्लाइक’ को वर्षा



काठमाडौँ ।

सञ्जय दत्त, आलिया भट्ट र आदित्य रोय कपुर अभिनीत ‘सडक–२’ को ट्रेलरमा ‘डिस्लाइक’ को बाढी आएको छ । युट्युबमा अपलोड भएको चार दिनमा शनिबार साँझसम्म उक्त फिल्मको ट्रेलरले ४ करोड ७७ लाख भ्युज पाएको छ ।

यो हेर्ने दर्शकमध्ये १ करोड ३ लाख ७३ हजार जनाले ‘डिस्लाइक’ को संकेत थिचेका छन् भने ५ लाख ६४ हजार ५ सय ‘लाइक’ गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि बलिउडमा चलेको नातावादको चर्को बहसको आक्रोश दर्शकले फिल्मको ट्रेलरमा पोखेको विश्लेषण गरिँदै छ । आफ्नो कोठामा मृत भेटिएका राजपुतको मृत्युबारे मुद्दा चलिरहेको छ ।

उनका परिवार आत्महत्या मान्न तयार छैनन् । बलिउड बाहिरबाट पुगेका कलाकार भएकाले नातावादका कारण उनले धेरै राम्रा अवसर गुमाएको भन्ने चर्चा चलिरहेको छ ।

विशेष फिल्मस्ले सडक–२ को ट्रेलर गत बुधबार युट्युवमा रिलिज गरेको हो । निर्देशक महेश भट्टले सन् १९९१ को अन्तिमतिर ल्याएको इनहाउस प्रोडक्सनको ‘सडक’ को उक्त सिक्वेल हो । ‘सडक’ मा भट्टकी जेठी छोरी पूजा नायिका थिइन् ।

यसपटक कान्छी छोरी आलियाले मौका पाएकी छन् । लामो समयदेखि फिल्न निर्देशनबाट ब्रेक लिएका भट्ट पुनः सिक्वेलन बनाउन तयार भएका हुन् ।

डिजिटल प्लेटफर्ममा अगस्ट अन्तिममा रिलिजको तयारीमा रहेको सडक–२ लाई ट्रेलरमाथिको प्रतिक्रियाले बहसमा ल्याएको छ । कोरोना संक्रमणका कारण सिनेमाघरहरू बन्द रहँदा चलचित्रको प्रदर्शन डिजिटल प्लेटफर्ममा गएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ११ : ५९ बजे