२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

चेतावनीसहित प्रहरीले बन्द गरायो चार नम्बरका लकडाउन उलंघन गर्ने पसल



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा लकडाउन भएको अवस्थामा पसल खोल्नेहरुमाथि प्रहरी कडा रुपमा प्रस्तुत हुन थालेको छ । विहान ८ बजेदेखि १० बजेसम्म अत्यावश्यकीय सेवा र वैङ्क तथा वित्तिय संस्था संचालनको लागि अनुमति भए पनि जिल्लाका बिभिन्न् मुख्य केन्द्रमा अरु पसल पनि संचालन हुन थालेपछि प्रहरी अनुगमनमा हिँड्दै कडाई गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारापण पौडेलको निर्देशनमा मंगलबार बाणगंगा नगरपालिकामा पर्ने चार नम्बरका केही पसल प्रहरीले बन्द गराएको छ । सुनचाँदी, कपडा, जुत्ताचप्पल, गिफ्ट आइटम, भाँडा लगायतका केही पसल संचालकले नियमविपरित खोलेको हुनाले प्रहरीले बन्द गराएको हो ।

अटेरी गरी फेरि पनि पसल संचालन गरेको पाइए संक्रामक रोग ऐनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । जिल्ला प्रशासनमा बिभिन्न स्थानबाट पसल खुलेको गुनासो पुगेकाले आजबाट थप कडाई गरिएको सिडिओ पौडेलले मायादेवी अनलाइनलाई जानकारी गराउनु भयो ।

तौलिहवा, कृष्णनगर, चन्द्रौटा, बनगाई, महाराजगंज, गोरुसिंगे, गजेहडा, ओदारी लगायतका स्थानमा पनि लकडाउन विपरित अनुमति दिइएका बाहेकका बिभिन्न पसल खुलेको पाइएकाले त्यहाँ पनि प्रहरी पुग्ने र अटेरी गर्नेलाई कारबाही गरिने बताइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७ मंगलबार ००:००  ९ : ४२ बजे