मायादेवी अनलाइन, चार नम्बर ।
भदौ ११ गते दिउँसो करिब १ बजेतिर इलाका प्रहरी कार्यालय गोरुसिंगेको प्राङ्गणमा थुप्रै मानिसको जमघट थियो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जिल्लामा लकडाउन भएको अवस्थामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने गोरुसिंगेको प्राङ्गणमा किन यति धेरै संख्यामा मानिसहरुको जमघट देखियो सबैलाई आश्चर्य थियो । जिल्ला लकडाउन भएको कारण धेरैले यो भिड नदेखे पनि पूर्वपश्चिम राजमार्ग हुँदै अत्यावश्यक कामको लागि आवातजावत गर्ने जो कोहीलाई कौतुहलताको विषय हुनु स्वभाविक थियो ।
रिर्पोटिङमा हिडेको मायादेवी अनलाइन प्रतिनिधिले प्रहरी कार्यालयको उक्त भिड देखेपछि प्रहरीलाई बुजेको थियो । कारण बुज्न खोज्दा लकडाउन उल्लङ्घनकर्ता पक्राउ पश्चात कार्यालय परिसरमा राखिएको प्रहरीले जनायो ।
लकडाउनको सन्दर्भमा जिल्लाका अरु प्रहरी कार्यालयले भन्दा फरक र उत्कृष्ट काम गर्दै आएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले लकडाउन उल्लङ्घनमाथि कारबाहीको फरक शैली अपनाएको छ ।
गोरुसिंगे प्रहरीले जसले लकडाउन उलङ्घन गर्छ यसलाई समातेर प्रहरी कार्यालयमा ल्याएर कोरोनाबारे प्रशिक्षण दिइरहेको छ । गोरुसिंगे प्रहरीले आफ्नो कार्यक्षेत्र भित्र लकडाउन उल्लङ्घन गर्नेमाथि निगरानी बढाउँदै आएको छ । मुख्य मुख्य बजार, चोकचौराहमा प्रहरीले दैनिकजसो गस्ती बढाइरहेका छन् भने उल्लङ्घनकर्तालाई समातेर प्रहरी कार्यालय ल्याई कोरोनाबारे प्रशिक्षण दिइरहेका छन् ।
कोरोना भाइरस सर्ने तरिका, रोगबाट बच्ने उपाय, लकडाउन उल्लङ्घन गर्दा हुने कानुनी कारबाहीको बारेमा प्रहरीले सचेत गराउने काम गर्दै आएको हो । भदौ ११ गते पनि उक्त कार्यको शिलशिला स्वरुप सचेतनामूलक कार्यक्रम राखिएको प्रहरी निरिक्षक कृष्ण रानाले जनाएको छ ।
कोरोना भाइरस संक्रमणको हिसाबले बुद्धभूमि नगरपालिका अहिलेसम्म कम जोखिमयुक्त नगरपालिका हो । गोरुसिंगे प्रहरीको कार्यक्षेत्र पर्ने यो नगरपालिकामा जिल्ला ट्राफिकको मुख्य कार्यालय छ । यहाँका ट्राफिक प्रहरीलाई नगरमै सबैभन्दा बढी कोरोना देखिएको छ भने समुदायस्तरका दुई जना मात्र संक्रमित छन् । तर, पनि गोरुसिंगे प्रहरीले नगरभित्र कोरोनाको संक्रमण भयावह नहोस भनेर गस्ती अभियानलाई तीव्रता दिइरहेको छ ।







प्रतिक्रिया