७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

उडान बालिकाहरुको शैक्षिक निरन्तरतामा सहयोग



मायादेवी अनलाइन, चार नम्बर ।

कोभिड १९ को महामारीका कारण शैक्षिक क्षेत्र प्रभावित हुँदा सयौं बालबालिकाहरु मारमा परेका छन् । विद्यालयको पठनपाठन बन्दा हुँदा यतिवेला बालबालिकाहरु घरमै बस्न बाध्य छन् । लामो समयदेखि विद्यालय नखुल्दा उनीहरुको शिक्षण सिकाई कार्य नराम्ररी प्रभावित भएको छ ।

विद्यालयको भरमा शिक्षण सिकाई गरिरहेका अझ ग्रामिण भेगका विपन्न बालबालिकाहरुको शैक्षिक अवस्था भने झन् कमजोर बन्ने देखिन्छ । सरकारले अवलम्बन गरेको वैकल्पिक शिक्षण सिकाई पद्धतीबाट समेत बञ्चित भएपछि ग्रामिण भेगका बालबालिकाहरु झन् समस्यामा छन् ।

चैत्र देखि भदौसम्म आइपुग्दा समेत विद्यालय संचालन नहुनुले जनतन विद्यालय पुगेका सयौं बालबालिकाहरुको शैक्षिक निरन्तरताको प्रश्न टड्कारो रुपमा उठिरहेको छ । शिक्षामा महत्व नदिएर विद्यालय छाड्ने बालबालिकाको अभिभावकमा कोरोना महामारीले सिर्जित समस्याका सवालमा थप जिम्मेवार हुनुपर्ने देखिएको छ ।

विगतको कपिलवस्तुमा विद्यालय छाड्ने दर पनि उत्तिकै छ । सरकारको वर्षेनी भर्ना अभियान मार्फत बालबालिका विद्यालयको पहुँचमा आउने त गर्दछन् । तर विद्यालयको पहुँचमा पुगेका बालबालिकाहरु पनि क्रमशः विद्यालय छाड्ने गरेका तथ्यांक छन् । कपिलवस्तुमा यस्ता बालबालिकाहरु धेरै छन्, अझ यसमा पनि बालिकाहरुको संख्या बढि छ ।

यसको यकिन तथ्यांक नभएपनि विभिन्न कारणले विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालिकाहरुको संख्या २ हजार बढि छ । बालबालिकाको क्षेत्रमा कार्यरत स्थानीय सिद्धार्थ सामाजिक विकास केन्द्रको तथ्यांक अनुसार विगत ६ वर्षमा कपिलवस्तुमा बालिका शिक्षा (उडान) कार्यक्रम अन्तरगत १ हजार २ सय ३२ बालिकाहरु जो स्कुल वाहिर रहेकालाई प्रत्यक्ष विद्यालयको पहुँचमा ल्याएको देखिन्छ । ती मध्ये कति बालिकाहरु विद्यालयमा निरन्तरता छन् वा छैनन अर्को सवालको रुपमा समेत रहेको छ ।

बालिकाहरुको शिक्षामा लामो समयदेखि काम गरिरहेको सिद्धार्थ सामाजिक विकास केन्द्रले कोभिड १९ बाट प्रभावित बालिकाहरुको शैक्षिक क्षेत्रमा सहयोग पु¥याएको छ । विभिन्न कारणले विद्यालय छाडेका वा विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालिकाहरुको शिक्षामा निरन्तरताका लागि उडान सिकाई केन्द्रमा सहभागी भएका बालिकाहरुलाई सहयोग गरिएको कार्यक्रम संयोजक नारायण घिमिरले जानकारी दिनुभयो ।

केयर नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको साझेदारीमा संचालित उडान कार्यक्रम अन्तरगत कार्यक्षेत्रका बालिकाहरुलाई शैक्षिक सामग्री तथा मर्यादा किट वितरण गरिएको छ । एकवर्ष सम्मको उडान सिकाई कक्षा मार्फत विद्यालयको परिक्षामा सहभागी गरिब, विपन्न, दलित, मुस्लिम बालिकाहरुलाई शैक्षिक सामग्री र मर्यादा किट प्रदान गरिएको कार्यक्रमका फोकल पर्सन इन्दिरा भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तरगत हाल विजयनगर गाउँपालिका, कृष्णनगर र महाराजगंज नगरपालिकाका ४ सय ८५ बालिकालाई प्रत्यक्ष सहयोग पुर्याइएको छ ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बालिका शिक्षा कार्यक्रम प्रभावकारी भएको बताउदै यसको अवधारणा राम्रो लागेको बताउनुभयो । उहाँले गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर संस्थासंग सहकार्य गरेर निरन्तरताको आवश्यकता देखिएको बताउनुभयो ।

विजयनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले सामग्री वितरण गर्दै बालिकाहरु धेरै विद्यालय छाड्ने गरेकाले अभिभावकले बालिकाहरुको शिक्षामा चासो दिनुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले शिक्षा र बालबालिकाको अधिकारमा संस्थाले पैरवी गर्दै आइरहेकोले महामारीका बेला समुदायमा राहत तथा अन्य सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७७ शुक्रबार ००:००  ३ : १२ बजे