५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

चिकित्सकले मृत घोषणा गरे, बैद्यले तांत्रिक विधिबाट बचाउँछु भन्दा प्रहरी खोरमा



बिष्णु कुमार आले, अर्घाखाँची ।
सर्पले डसेपछि चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधिबाट उपचार गरि ब्युँताउने भन्दै झारफुक गरिरहेका बेला प्रहरीले एक जना बैधलाई पक्राउ गरेको छ । झारफुक गरिरहेका कपिलवस्तु बाणगंगा ७ का ७० बर्षीय कर्ताराम चौधरीलाई सोमबार राति नै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतले बताए ।

जिल्लाको शीतगंगा ५ थारपाईला करापु निवासी २६ बर्षीय यम बहादुर बेल्बासेलाई भदौ १३ गते राति ओछ्यानमा सुत्नेक्रममा सिरकको खोलभित्र लट्पट्टीएर बसेको सर्पले शरिरको पेटमा टोक्यो ।

बिकट ठाउँबाट गाउँलेले बिरामीलाई घण्टौ बोकेर एम्बुलेन्स चल्न सक्ने गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको ठाडा अमराईसम्म ल्याएपछि हतार हतार गरि छिटो उपचार गर्न गोरूसिङ्गे सर्पदंश उपचार केन्द्रमा आफन्तले पु¥याए ।

गोरूसिङ्गे सर्पदंश उपचार केन्द्रले बिरामीको अवस्था नाजुक गम्भीर भैसकेको र उपचार गर्न नसक्ने भन्दै बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिदियो । बिरामीलाई गोरुसिंङ्गेबाट बुटवल लैजादा एक रात बितिसकेको थियो ।

पुनः बिरामीको बुटवल लैजानेक्रममा बाटोमै मृत्यु भयो । अर्को दिन भदौ १४ गते बिहान ८ बजेर ३२ मिनेट जाँदा चिकित्सकले सर्पले डसेको बिरामीलाई मृत घोषणा गरि फिर्ता गरिदिए । अस्पतालले मृत घोषणा गरेपछि शवलाई फर्काएर आफन्तले अर्घाखाँची शीतगंगा ५ थारपाईला करापु घरमा ल्याएर आफन्तले शबको अन्तिम दाहासंस्कार गर्न सीतखोलाको भाविन आर्यघाटमा लगेका थिए ।

आर्यघाटमा शव पु¥याउने बित्तिकै त्यतिकैमा तराईबाट मृतकका आफन्तको टेलिफोन आयो । सर्पले डसेको तीन दिन भित्र बैधले तांत्रिक बिधिबाट झारफुक गरि ओखती खुवाएपछि निको पार्ने खबर सुनेका छौं, अहिले अन्यष्टि गर्न रोकौं, बैधले तांत्रिक बिधिबाट झारफुक गरेपछि ब्युँतिपो हाल्छ कि भनेर फोन आएपछि मृतकका आफन्त र मलामी गएका छिमेकीहरूले शवलाई करिव ५ घण्टा आर्यघाटमा राखेर झारफुकबाट निको हुने आसमा पुन शवलाई आर्यघाटबाट गाउँ फकाईएको मृतकका जेठा बुवा टेकबहादुर बेल्बासेले बताए ।

मरिसकेको निर्जीव शरीर ब्युँतिने आसमा बैधको प्रतिक्षामा बसेका आफन्त र गाउँलेहरूमा आइतबार साँझ करिव ५ बजे बैध आएर झारफुक गर्दा आफुले बचाउन नसक्ने भनेपछि पलाएको आसाको त्यान्द्रो चुडिएको मृतकका बुवा लेख बहादुर बेल्बासेले दुखेसो गरे ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा निस्किएको प्रहरीको गस्तीले चिकित्सकले मृत घोषणा गरिसकेको शवलाई तांत्रिक बिधिबाट सर्पको बीस मारेर ब्युताउँने भन्दै झारफुक गरिरहेको अवस्थामा बैधलाई नियन्त्रणमा लिएको हो । शवको दुरगन्धित फैलिन थालेपछि करिव सर्पले डसेको ३६ घण्टा पछि शवको अन्त्यष्टि गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७७ सोमबार ००:००  १० : ४६ बजे