प्रदेश ५ सरकारको कोरोना रोकथाममा ३४ करोड खर्च


बुटवल ।
प्रदेश ५ सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हालसम्म ३४ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । उक्त रकम प्रदेशअन्तर्गतका अस्पताल, प्रयोगशाला र स्वास्थ्य कार्यालयमा उपकरण, औषधि एवं स्वास्थ्यकर्मीको जोखिम भत्तामा खर्च भएको हो ।

प्रदेशमा चारवटा कोरोना विशेष अस्पताल, प्रदेशअन्तर्गतका १३ अस्पताल, १२ जिल्ला स्वास्थ्य कार्यालय र १२ वटा आयुर्वेद अस्पताल छन् । चारवटा कोरोना अस्पताल व्यवस्थापन र सञ्चालनमा अहिलेसम्म १५ करोड ७५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । ती अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरसहितका उपकरण, औषधि तथा जनशक्ति व्यवस्थापन गरेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । प्रदेश प्रयोगशाला व्यवस्थापन र सञ्चालनमा मात्रै ३ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

चैत १० मा प्रदेश सरकारले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, रूपन्देहीकै भैरहवाको भीम अस्पताल, दाङको राप्ती प्रादेशिक अस्पताल र बाँकेको भेरी अस्पताललाई २र२ करोड रकम विनियोजन गरेर कोरोना विशेष अस्पतालका लागि उपकरण र जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालले सबैभन्दा धेरै ७ करोड ९१ लाख ९० हजार रुपैयाँ लगेको छ ।

प्रदेश सरकारले गत असारसम्म स्वास्थ्यकर्मीको जोखिम भत्तामा ७ करोड २३ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । तर जोखिममा खटेका आधारमा दिने भत्ता दुरुपयोग भएको गुनासो आएपछि सामाजिक विकास मन्त्रालयले छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस