अब दुई वटा सहकारीमा सदस्य बन्न नपाइने


चितवन ।

आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ क मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् ।

विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ ।

पाण्डेले हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेको जानकारी दिए । यो कार्य पूरा भएसँगै सबै सदस्यलाई स्वघोषणा गर्न लगाउने उनले बताउनुभयो । सहकारीको निर्देशन अटेर गरेमा सहकारी कानून परिपालन नगर्दा हुने कानूनी सजाय गरिने उनको भनाइ छ । यस अन्तरगत रु दुई लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

शहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको सङ्ख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिए । विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उनको भनाइ छ । रासस

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस