२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बाढीपहिरोमा परेर बाग्लुङमा अझै १६ जना बेपत्ता, कही नभेटिएपछि खोज्न पनि छाडियो



बाग्लुङ ।
यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ ।

मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका–९ का १५ जना बेपत्ता छन् । त्यसअघि साउन १० गते बाग्लुङ नगरपालिका–१ मा खसेको पहिराले टिपर पुर्दा हराएका चालक निर्मल पुन पनि अझैसम्म बेपत्ता छन् ।

महिना दिन बित्न लाग्दासमेत बाढीमा परेकाहरु नभेटिएपछि प्रहरीले खोजबिन गर्न छाडेको छ । सुरक्षाकर्मी र उद्धारकर्ता हप्तौंसम्म बेपत्ताको खोजीमा जुटेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ता भएका सकुशल भेटिने सम्भावना न्यून रहेको बताए ।

सुरक्षाकर्मीले छिमेकी गुल्मीसम्म पुगेर बाढीले बगाएका शवको उद्धार गरेका थिए । जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धीरेन्द्रराज पन्तले बेपत्ता भएकाका परिवारलाई पनि मृतक सरह राहत दिलाउन प्रक्रिया अगाडि बढाइएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ६ : २३ बजे