२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

दलित मानव अधिकार निगरानी समितिमा पुनः परियारको नेतृत्व



मायादेवी अनलाइन, चन्द्रौटा ।
दलित मानव अधिकार निगरानी समितिको अध्यक्षमा पुनः मिना परियार चयन हुनुभएको छ । चन्द्रौटामा मंगलबार भएको संस्थाको चौथो अधिवेशनबाट पुनः परियार अध्यक्षमा चयन हुनु भएको हो । परियारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा मन्नी सिल्पकार, सचिव कल्याणी खनेल, कोषाध्यक्ष जगदशि कोरी, सदस्यहरु शान्ति बुढाथोकी, पनिज खाज्मा, केशर विश्वकर्मा र बाँकी २ जना पछि मनोनित हुने गरि समिति चयन भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले समतामूलक समाज निर्माणमा सबै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । समाजका हरेक नागरिक शिक्षित, सक्षम र समृद्ध नभएसम्म विभेद रहि रहने भन्दै यसलाई सबैको प्रयासले मात्र चिर्न सम्भव हुने बताउनुभयो ।

निगरानी समितिले दलितका अधिकारका पैरवी गरेको र विश्व शिक्षा मार्फत इट्टाभट्टामा काम गर्ने मजदुर बालबालिकाको अवस्था र उनीहरुको शिक्षाको विषयमा सराहनिय काम गरेको भन्दै उहाँले संस्थाको प्रशंसा समेत गर्नु भयो ।

सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख शिवकुुमारी चौधरीले दलित मानव अधिकार निगरानी समितिले दलितको पक्षमामात्रै नभएर महिला, श्रमिक बालबालिकको अधिकारको क्षेत्रमा समेत प्रत्यक्ष काम गर्दै आएको बताउनु भयो ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ६ : ५२ बजे