१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पिपराका इन्स्पेक्टरले पत्रकारसंग भने, ‘बर्दी र फुलीको दुरुपयोग हुन दिन्नँ’



मायादेवी अनलाइन, चार नम्बर ।
इलाका प्रहरी कार्यालय वाणगंगा २ पिपराका प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिनेश गुरुङले बाणगंगामा विद्यमान नदीजन्य पदार्थको अनावश्यक दोहनलाई गम्भिर रुपमा लिएको बताउनु भएको छ । पिपरामा हाजिर भएको तीन दिनमै यस समस्याको विषयमा धेरैले जिज्ञासा राखेकाले यस विषयलाई आफुले गम्भिर रुपमा लिएको उहाँले बताउनु भएको हो ।

इप्रका पिपरामा भर्खर मात्र सरुवा भई आउनु भएका इन्स्पेक्टर गुरुङले बुधबार विहान भएको पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा भन्नुभयो, ‘म अलिक बढी रुखो र खरो स्वभावको छु । कतिपयलाई मेरो काम गर्ने शैली ठिक लाग्दैन पनि होला । नियम र कानुनमा टेकेर काम गर्दछु । अपराध, अन्याय, अत्याचार, तस्करी मलाई मन पर्दैन । बाणगंगामा नदीजन्य पदार्थको अनावशयक दोहन हुने गरेको धेरैबाट सुनेँ । आजैबाट यसलाई नियन्त्रणको लागि काम हुन्छ ।’

प्रहरीको एक्लो प्रयासबाट कुनै काम सम्भव नहुने भएकाले यसमा सबैको साथ र सहयोग हुनुपर्ने उहाँको भनाई छ । प्रहरीले सबुतको आधारमा मात्र कुनै पनि एक्सन गर्न सक्ने भन्दै समाजका वेथिति, अन्याय, अत्याचार, अपराधहरुको बारेमा समयमा प्रहरीलाई सूनना दिन पनि उहाँको आग्रह छ ।

पत्रकारहरुले बाणगंगामा रहेका नदीजन्य पदार्थको दोहन, लागु पदार्थको दुव्र्यसनी, हत्या, हिंसा, बलात्कार, चोरी, यौनधन्दा, तस्करी, घुसपैठ आदि समस्याका बारेमा इन्स्पेक्टर गुरुङ समक्ष ब्रिफिङ गरेका थिए ।

इन्स्पेक्टर गुरुङले आफ्नो ४ बर्षे प्रहरी सेवाको अवधिमा प्रसंसाभन्दा आलोचना बढी खाएको सुनाउँदै राम्रो र जनताको काम गर्दा हुने आलोचनाले कुनै फरक नपर्ने बताउनु भयो । जनतालाई न्याय दिने र शान्ति सुरक्षा कायम गर्ने सवालमा हुने दबाब, प्रभाव आदिलाई पनि नसुन्ने जिकिर गर्दै कोहीकसैसंग मिलेमतो नगर्ने दाबी पनि गर्नुभयो । सबै कुराको आमुल परिवर्तन गर्ने पात्र प्रहरी नभएको भन्दै सबैको सहयोग भएमा नगरबासीले केही फरकपनको महसुस गर्ने इन्स्पेक्टर गुरुङको भनाई छ ।

प्रहरीको पनि निश्चित आचारसंहिता र नियम छ, यसभन्दामाथि जान सक्दिनँ उहाँले पत्रकारसमक्ष भन्नुभयो ‘जे काम गर्न यो बर्दी लगाएको छु, यो फुली पाएको छु त्यसलाई दुरुपयोग हुन दिँदै दिन्नँ । विश्वास गर्नू, कसैसंग मिलिमतो भएर काम पनि हुन्नँ र मिल्दैन । सत्यको पछि लाग्छु । सत्यतावेगर कसैको पनि कुरा पनि सुन्दिनँ ।’

इन्स्पेक्टर गुरुङले प्रहरीको एक्लो प्रयासले मात्र समाजमा शान्ति सुरक्षा र सुशासन कायम हुन नसक्ने भन्दै नगरबासी सबैको साथ खोज्नु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  १२ : ०८ बजे