१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सरकारको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने



काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरूद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ। आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार भ्रष्टाचार तथा अनियमिततामा मुछिएको र कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा चुकेको भन्दै देशव्यापी विरोध गर्ने निर्णय गरेको हो। असोज १९ गते बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा सरकारविरूद्ध देशव्यापी विरोधबारे छलफल गरी ठोस कार्यक्रम तय गरिने पनि कांग्रेसले जनाएको छ।

‘कोरोना नियन्त्रण तथा रोकथाममा सरकार चुक्यो। महामारीका बेला पनि भ्रष्टाचारका कुरा आइरहेका छन्। आम जनताको जीवन कठिन हुँदै गएको छ। बेरोजगारी बढेको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सेतोपाटीसँग भने, ‘यी विषयबारे छलफल गर्न संसद बैठक माग गर्न केन्द्रीय समिति र संसदीय दलमा छलफल गर्ने तथा केन्द्रीय समितिमा छलफलपछि देशैभरि विरोधका कार्यक्रम गर्ने निर्णय भएको छ।’ ठूला भ्रष्टाचार काण्डमा सरकार नै जोडिएकोले देशैव्यापी विरोध गर्न लागिएको कांग्रेसले जनाएको छ।

पदाधिकारी बैठकले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे पनि छलफल गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित २७ केन्द्रीय सदस्यले देउवाको कार्यशैलीविरूद्ध विरोध पत्र दर्ता गरेका थिए। उक्त विरोध पत्रमा उठाइएका कुराबारे असोज १९ कै केन्द्रीय समितिमा लिखित रूपमा बुँदागत जवाफ पेश गर्ने सहमहामन्त्री पौडेलले जानकारी दिए।

‘वरिष्ठ नेताले प्रस्तुत गरेको ज्ञापन पत्रमा बुँदागत रूपमा छलफल भयो,’ उनले भने, ‘केन्द्रीय समिति बैठकमा त्यसबारे बुँदागत रूपमा प्रष्ट पार्ने काम हाम्रातर्फबाट हुन्छ।’ देउवाले महाधिवेशनका मुखमा विभागलगायत गठन गरेकोमा पौडेल समूहको विरोध छ।

केन्द्रीय समिति बैठक बस्नु अगाडि नै आफूहरूले उठाएका एजेन्डामा सभापतिले जवाफ दिनुपर्ने पौडेल पक्षको माग थियो। आजको पदाधिकारी बैठकमा महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव उपस्थित थिएनन्। तर पूर्वउपसभापति गोपालमान श्रेष्ठ भने सहभागी थिए।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ३ : २५ बजे