प्रचण्डसँग भेटेपछि महासचिव पौडेलले भने– ‘पार्टीभित्रको विवाद गम्भीर मोडमा’


काठमाण्डौ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद गम्भीर मोडमा पुगेको नेताहरूले बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग धुम्बाराहीमा छलफलपछि महासचिव विष्णु पौडेलले परिस्थिति निक्कै गम्भीर भएको प्रतिक्रिया दिनुभएको हो ।

भेटमा अध्यक्ष प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर अवस्थामा रहेको तर समस्या समाधानहीन भने नरहेको बताउनुभएको स्रोतले जनाएको छ । यसअघि बुधबार सचिवालय बैठक बस्नुअघि पनि महासचिव पौडेलले अध्यक्ष प्रचण्डसँग पार्टीभित्रको आन्तरिक विवादबारे छलफल गर्नुभएको थियो ।

शुक्रबार नै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच पनि भेटवार्ता भएको छ । उहाँहरूबीच नेकपाभित्र चुलिएको विवाद समाधानबारे नै छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

गएको कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनप्रति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बन्नुभएको छ । अध्यक्ष प्रचण्डले प्रस्ताव पेस गर्नुभए सँगै नेकपाभित्रको विवाद झनै बल्झिएको छ ।

अध्यक्ष प्रचण्डको प्रस्तावलाई लिएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गएको बुधबारको बैठकमा अध्यक्ष प्रचण्डविरूद्ध आक्रोश व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मङ्सिर १३ गतेसम्मको समय माग्नुभएको छ । त्यसअघि विभिन्न चरणमा छुट्टाछुट्टै छलफल सुरु भएको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस