३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

आइतबार राति अत्यधिक उल्कापात



काठमाडौं ।
यो वर्षको मिथुन उल्कापात आज राति उत्कर्षमा पुग्दैछ। उल्कापात राति ८ बजेबाट बिहान साढे पाँच बजेसम्म देख्न सकिने छ । मंसिर १९ देखि पुस २ गतेसम्म सक्रिय रहने मिथुन उल्कापात आज राति अत्याधिक हुने छ ।

सो समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने बताइएको छ । जल तथा मौसम विज्ञान विभागले आज राति प्रदेश नम्बर १ को पहाडी क्षेत्रमा बदली हुने भएपनि बाग्मती र गण्डक प्रदेशको खुला रहेन जनाएको पूर्वानुमान गरेको छ ।

‘उल्कापात शुरु भैसकेपनि मध्य रातिपछि भने राम्रो देखिने छ’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले भने । यो उल्कापात क्षुद्र ग्रह ‘३२०० फेथन’ले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थबाट बन्दछ।

क्षुद्र ग्रहले छाडेको कण र पदार्थहरु भएको स्थानमा पुग्दा ती कण तथा पदार्थ वायुमण्डलमा प्रवेश गरेपछि जल्छन् । पृथ्वीको सतहभन्दा ७० किलोमिटरमाथि जलेको कण तथा पदार्थ चम्किलो देखिन्छ, जसलाई उल्कापात भनिन्छ ।

उल्कापात समयमा उल्काहरु मिथुन राशिबाट निस्किएजस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामाकरण गरिएको हो । ‘सर्वसाधारणले उल्कापात आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्दा बढी मात्रामा देख्न सकिन्छ’, नेपाल एस्टोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले भने, ‘चन्द्रमा पनि छैन । त्यसैले यसलाई वर्षकै उत्कृष्ट उल्कापातको अनुमान गरिएको छ ।’

प्रकाशित मिति : २८ मंसिर २०७७ आइतबार ००:००  १० : ५२ बजे