३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

कपिलवस्तु उद्योग वाणिज्य संघ अधिवेशनको तयारीमा जुट्यो



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघको नियमित वैठकले आउदो माघ २३ र २४ गते अधिवेशन तथा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । संघको कार्यालय चारनम्बरमा बसेको कार्यसमितिको वैठकले संघको १४ औं साधारण सभा र ७ औं अधिवेशन ५२ दिन पछि माघ २३ र २४ गते गर्ने निर्णय गरेको हो । संघको साधारण सभाका लागि सदस्यता नवीकरण, नयाँ सदस्यता दर्ता, विद्यान संशोधन लगाएतका विषयमा महत्वपूर्ण निर्णय गरेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

विधान वमोजिम संघको साधारण सभा तथा अधिवेशन आयोजना गर्न साधारण सदस्य तर्फको नविकरण, वस्तुगत तथा एशोसियट तर्फको सदस्यको आवद्धता तथा नविकरणका लागि समय सिमा तोेकेको छ । संघमा नयाँ सदस्यता साधारण तर्फ पुस ५ भित्र र बस्तुगत तथा एशोसियट्स सदस्यका लागि माघ १५ सम्म नविकरण तथा दर्ताका लागि आवश्यक शुल्क समेत तय गरेको छ ।


महासंघको केन्द्रिय निति नियमलाई अवलम्बन गर्दै कपिलवस्तु उद्योग वाणिज्य संघलाई व्यवस्थित गर्न विधान संशोधनका लागि अध्यक्ष उमानाथ पौडेल संयोजक रहने गरी पूर्व अध्यक्षहरु शंकर प्रसाद आचार्य, विष्णु प्रसाद न्यौपाने, देवी प्रसाद पाण्डे, यज्ञ प्रसाद भट्टराई र कानुनी सल्लाहकार रविराज आचार्य सदस्य रहेको समिति गठन भएको छ ।

साथै वैठकले एशोसियट सदस्य तर्फ आवद्धताका लागि टोपनारायण भण्डारीको संयोजकत्वमा छविलाल रेश्मी मगर, हुमनाथ पौडेल, रविराज आचार्य र खुमानन्द घिमिरे सदस्य रहेको समिति गठन गरेको छ भने वस्तुगत सदस्य तर्फका लागि वस्तुगत उपाध्यक्ष नारायण खनाल संयोजक रहने गरी शालिकराम भुसाल, देवी प्रसाद पाण्डे, विष्णु प्रसाद न्यौपाने र रविराज आचार्य रहेको समिति गठन गरिएको महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

वैठकले महासंघको ५४ औं वार्षिक साधारण सभा तथा निर्वाचनको समिक्षा गर्दै कपिलवस्तु शाखाको भूमिका प्रभावकारी र केन्द्रिय टिममा नेतृत्वदायी जिम्मेवारी निर्वाह गरेको समिक्षा गरेको संघका प्रेस सल्लाहकार हरि अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० मंसिर २०७७ मंगलबार ००:००  ८ : १८ बजे