८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

३५ दिने सूचना निस्केपछि बुद्धभूमिका मेयरले उत्साहित हुँदै भने–‘अब काममा खटिन्छौं’



मायादेवी अनलाइन, बुद्धभूमि ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिने सूचना निकाले पछि बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले अब तत्काल फिल्डमा खटिएर काम गर्ने बताउनुभएको छ ।

नगरभित्र व्याप्त रहेको भूमिहिनको समस्या समाधानमा आयोगले तोके अनुसारको काममा तत्काल खटिने बताउँदै अब लगत संकलनमा लागि कर्मचारी परिचालन गरिने मेयर श्रेष्ठले बताउनुभयो ।

भर्खर सकिएको आठौं नगर सभाबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पक्षमा काम गर्न नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

बुद्धभूमिको हिउँदे सभा सकियो, भूमि सम्बन्धि समस्या समाधान गर्ने देखि यस्ता छन् विभिन्न निर्णय

शुक्रबार निस्किएको सूचनामा ३५ दिन भित्र स्थानीय तहमा निवेदन बुझाउन भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ ।
आयोगले जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो ।

फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिने छ । आयोगले निवेदन बुझाउनका लागि सातवटै प्रदेशमा स्थानीय तहहरु तोकेको छ ।

यस्तो छ आयोगले निकालेको सूचना

प्रकाशित मिति : १० माघ २०७७ शनिबार ००:००  १० : ०० बजे