७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

संसद विघटनविरुद्ध आज नेकपाको बुटवलमा विरोध कार्यक्रम



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (विहीबार) बुटवलमा बृहत आमसभाको आयोजना गरेको छ । संसद विघटन विरुद्ध हुने आमसभामा नेकपाका अध्यक्षदोय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, जनार्दन शर्मा लगायत शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

बुटवलको पुष्पलाल चोकको मैदानमा आयोजना गरिएको विरोधसभामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कार्यकर्ता उतार्ने तयारी भएको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी प्रतिगामी कदम चालेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले देशभर विरोधसभा गर्दै आएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चरणबद्ध विरोध सभाका कार्यक्रम गरेको नेकपाले विहीबार प्रदेश स्तरीय आमसभा गर्न लागेको हो ।

रुपन्देहीमा हुने प्रदेश स्तरीय आमसभामा कपिलवस्तुबाट पनि हजारौं कार्यकर्ता उतार्ने लक्ष्य छ । जिल्लाका १० स्थानीय तहका गरी ४५ भन्दा बढी बस, ४० जीप र एक सय बढी मोटरसाइकल मार्फत विरोध सभामा कार्यकर्ता तथा शुभचिन्तक बुटवल जाने नेकपा कपिलवस्तुका सचिव रामचन्द्र शाहले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ता विहान साढे १० बजे चारनम्बर चोकमा भेला हुने कार्यक्रम तय भएको र दिउँसो १२ बजेसम्म बुटवलको जीतगढीमा पुगिसक्नुपर्ने नेकपा सचिव शाहले बताउनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७७ बिहिबार ००:००  ८ : ०९ बजे