१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

उप-प्रधानमन्त्री पोखरेलले खोजे कोरोना नियन्‍त्रणमा जनताको साथ



काठमाडौं ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना विरुद्धको लडाइँमा जनताले साथ नदिए समस्या समाधान गर्न कठिन हुने बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजकसमेत रहेका पोखरेलले शुक्रबार सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ सफल नहुने भन्दै यस्तो बताएका हुन् ।

‘कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो । यसलाई राज्यको मात्र काम हो भन्नु हुन्न,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं । जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ। जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ ।’

सरकारले वैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड-१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको भन्दै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए ।

पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारीसमेत दिएका छन् । यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनको भनाइ छ ।

१८ लाख भन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए ।

सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाइँ सफल पार्नुपर्ने उनको भनाइ छ । ‘म नागरिकहाई अपील गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरेको छ । त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ ’, उनले भने, ‘हामी आफै जवााफदेही भएर अगाडि बढ्न जरुरी छ ।’

प्रकाशित मिति : १७ बैशाख २०७८ शुक्रबार ००:००  २ : ५३ बजे