७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सर्जिकल पसलमै गएर डिएसपीले कुटे कर्मचारी



पर्सा ।

पर्सामा सर्जिकल पसलभित्रै पसेर प्रहरी नायब उपरीक्षक (डिएसपी)ले कर्मचारीलाई कुटपिट गरेको घटना बाहिर आएको छ।बुधबार बिहान १० बजेर २१ मिनेटमा वीरगन्ज उपमहानगरपालिका(८ स्थित पानीट्याङ्की ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर डिएसपी प्रह्लाद कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेका हुन्।उनले करण पटेलले सञ्चालन गरेको सर्जिकल पसलमा काम गर्ने अन्दाजी २१ वर्षीय अफ्रोज अहमदमाथि कुटपिट गरेका हुन्।

त्यो पसल करण पटेलको हो।‘डिएसपी सा’बको टोली आएको थियो। बिहान छेउको पसलहरू खुलेका थिए। बन्द गराउने बेलामा डिसकस भइरहेको थियो। केहीले भिडिओ खिचिरहेका थिए। त्यहीबेला पसलमा छिरेर प्रहरीले लाती, बुट र लाठीले हिर्काउनुभयो,’ पटेलले सेतोपाटीसँग भने।

कुटपिटबाट अहमदको हातखुट्टामा निलडाम बसेको उनले बताए।प्रहरीले भिडिओ खिचेको भन्दै मोबाइल फोनसमेत लगेको उनले बताए। अहिले सो पसलको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।‘भाइ भर्खरै एक महिनामात्रै भएको थियो काम गर्न बसेको। म पनि स्वास्थ्यकर्मी हो। त्यहाँ आज म थिइनँ,’ पटेलले भने, ‘खासै ठूलो समस्या भएको थियो भन्ने लागेन। भिडिओ बनाए कि बनाएनन् थाहा छैन। बनाएकै भए पनि सानो बच्चा जस्तो छ तर नराम्रो तरिकाले कुट्नु त भएन नि।’

कक्षा १२ सकाएका अहमदले पहिले पनि अस्पतालको काउन्टरमा काम गरेको हुँदा पसलमा राखेको पटेल बताउँछन्।‘भाइसँग मेडिकलको ज्ञान भएको हुँदा राखेको थिएँ। तर के गर्नु आज तनाव भयो,’ पटेलले भने।पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले कुटपिट भएको स्वीकारेका छन्। उनले सो घटना गलत भएको भन्दै त्यसमाथि आवश्यक छानविन तथा कारबाही हुने बताएका छन्।

‘निषेधाज्ञाको उल्लंघन गर्ने बढ्यो भनेर हामीले प्रहरी व्यापक परिचालन गरेका थियौं। नियन्त्रणमा लिन पर्‍यो भनेका थियौं। त्यसैक्रममा आज केही व्यक्तिले भिडिओ खिचेका रहेछन्,’ एसपी पाण्डेले भने, ‘डिएसपी साबले भित्र गएर हातपात गर्न पर्दैन थियो। यसो सम्झाएर भिडिओ डिलिट गरेर सम्झाएको भए हुन्थ्यो।’प्रहरीमाथि पनि आक्रमण हुने क्रम बढेको हुँदा पर्सा प्रहरी अलि तनावमा पनि भएको उनले बताए।

‘हामीमाथि नै अट्याक हुन थालेपछि हैरान छौं। फेरि आज यस्तो भयो। काम गलत भयो म करेक्सन गर्छु,’ उनले भने, ‘कुटपिट गर्न जरुरी थिएन।’प्रहरीले ती युवकलाई भोलि नै कार्यालयमा बोलाएर छलफल गर्ने र मोबाइल पनि फिर्ता गर्ने पाण्डेले बताए।निषेधाज्ञा कार्यान्वयनको क्रममा बाधा अवरोध भइरहने हुँदा यस्तो घटना हुन पुगेको आफूले बुझेको र त्यस्तो कार्यमा संलग्न प्रहरी कर्मचारीलाई कारबाही गर्ने उनले बताए।

प्रकाशित मिति : १३ जेष्ठ २०७८ बिहिबार ००:००  १० : २४ बजे