२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

पार्टी स्थापनाकालका सबै नेता माधव नेपाल पक्षमा



काठमाडौं ।
व्यक्तिगत टकराव र अहंकारकै कारण सत्तारुढ पार्टी नेकपा एमाले विभाजनको अन्तिम विन्दुमा छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका शिर्ष नेताहरुको तुलना गर्ने हो भने खास एमाले पार्टी निर्माता, त्यागी र निष्ठाको राजनीति गर्नेहरु माधव पक्षमा पल्लाभारी देखिएको छ।

एमालेका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले माले स्थापना गर्दा केपी शर्मा ओली जेलमा थिए । २०४४ सालमा जेलबाट छुटेपछि केन्द्रीय सदस्य बनेका उनै ओलीले आज खनाल–नेपाललाई पार्टीबाट निष्कासन गरेर एमाले कब्जामा लिएका छन् । यो संगै झापा विद्रोहलाई प्रेरणा मानेर एउटै पृष्ठभूमिबाट माथि उठेका ओली, खनाल र नेपालको बाँकी राजनीतिक जीवन अब अलग हुने निश्चित भएको छ।

गत वर्षको फागुन तेस्रो साताबाट सुरु भएको निषेध र प्रतिशोधको वीष वृक्ष बढ्दै गएपछि एमालेको खनाल–नेपाल समूहले पार्टीबाट अलग्गिनुमै आफ्नो भलाई ठान्दै आएको थियो। तर त्यो सिलसिला जेठ १० गतेसम्म आईपुग्दा ओलीले आफ्नै स्थापनाकालिन सहयात्रीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकाल्ने हदमा पुगेपछि एमालेको एकताबद्ध कहानी विलयको अवस्थामा झरेको छ। अब खनाल–नेपाल समुह अर्को पार्टीको तयारीमा छ।

नेकपा एमालेलाई माधवकुमार नेपालले सबैभन्दा लामो समय निरनतर १५ वर्ष हाँकेका थिए । झलनाथ खनालले भूमिगत कालमा ५ वर्ष मालेको नेतृत्व गरे। २०६४ सालको संविधानसभा चुनावपछि खनाल नै फेरि पार्टीको महासचिव बने। २०६५ को आठौं महाधिवेशनबाट ओलीलाई पराजित गर्दै खनाल पहिलो अध्यक्ष बन्दै एमालेको नेतृत्व गरेका थिए।

नवौं महाधिवेशनपछि मात्रै माधव नेपाललाई हराएर पार्टीको नेतृत्वमा आएका ओली नै अहिले एमालेको एकाधिकार बनेका छन्। यद्यपी पार्टीभित्रको सिदान्तनिष्ठ, वैचारिक र एमालेका असली अनुहार खनाल–नेपाल तिरै देखिन्छन्। ओलीतिर भने बढी महात्वाकांक्षी, दादागिरी र अहंकारीहरुको झुण्ड रहेको कुनैबेला ओली माधवहरुकै सहयात्री रहेका पुराना कम्युनिष्ट नेताहरु बताउँछन्।

एमालेकै जगमा उभिएर तीनै जनाले देशको प्रधानमन्त्री बन्ने हैसियत पाए। तर राजनीतिक जीवनको उत्तरार्धमा आईपुग्दा यी तीनबीच मन नमिल्ने अवस्था आयो र बहिर्गमनको यात्रा आरम्भ भएको छ। खनाल–नेपाल समुहले विधार्थी नेताको नेतृत्वमा नेकपा एकिकृत नामको पार्टी दर्ता गरेको छ। गतबर्षदेखि नै विभाजनको रस्साकस्सीमा रहेपनि पार्टी फुटको दोष आफ्नो थप्लोमा लिन नचाहेका कारण एमाले एक जस्तो देखिएको थियो। अहिले खनाल–नेपाल समुह नयाँ पार्टी नै दर्ता गरेर अघि बढेपछि एमाले विभाजन सुनिश्चित भएको हो।

२०५४ मा फुटेर ५८ मा मिलेको एमाले पुनः दोस्रो पटक विभाजनमा पुग्नुको मुल कारण प्रधानमन्त्री ओलीको शक्ति आर्जन गर्ने हुटहुटी हो। जसले यसअघि नेकपा फुटाईसकेको छ। त्यसमध्ये खनाल–नेपाल समुहले ६६ जिल्लामा गठन गरेको समानान्तर कमिटी पनि अर्को कारण हो। जुनसुकै राजनीतिक दलको निर्माण, गति र भविष्यन्यु उसले अंगिकार गरेको सिद्धान्त र निष्ठामा अढिएको हुन्छ।

निष्ठाको राजनीति गौण हुँदै गएको परिप्रेक्षमा एमालेभित्र पनि हैकमवादी सोँच र निरंकुशता हावी हुँदै गएको छ । पार्टीका बैचारिक शक्ति पाखा लगाएर कम्युनिष्ट पार्टीको गतिशिलता दिवास्वप्ना मात्रै हुँदै जाने कतिपयको बुझाई छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८ आइतबार ००:००  ९ : २१ बजे