५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बढ्दै गएको कालो ढुसी सङ्क्रमणबारे जान्नै पर्ने कुरा



काठमाण्डौ ।

कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएका केही बिरामीमा कालो ढुसी (म्यूकरमाइकोसिस) को पनि सङ्क्रमण पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा केही व्यक्तिमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा यो रोग बिरलै देखिए पनि सङ्क्रमण पुष्टि भएकामा गम्भीर र प्राणघातक पनि हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।


कालो ढुसी बारे जान्नै पर्ने कुरा

– अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने गर्छ ।
– आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने, आँखाको ढकनी सुन्निने र आँखा धमिलो देखिने, दाँत दुख्ने लगायतका लक्षण देखिन्छ ।
– ४५ देखि ६५ वर्ष उमेर समूहका मानिस यो रोगको उच्च जोखिममा रहन्छन् ।
– मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू र धेरै खालका एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गरेकाहरू पनि यो रोगको जोखिममा हुन्छन् ।

कसरी ध्यान दिने ?

यो रोगबाट बच्नका लागि घरमा आइसोलेशनमा बस्दा विभिन्न खालका उपाय अपनाउनुपर्ने डाक्टरहरूले बताएका छन् ।
– सफा र सुख्खा मास्क प्रयोग गर्ने
– डिस्पोजल मास्कको फेरि प्रयोग नगर्ने
– नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– व्यक्तिगत स्वच्छतामा ध्यान दिने
– घरबाहिर वा फोहोरमा काम गर्नुपरेमा डिस्पोजल पन्जाको प्रयोग गर्ने
– धेरै धुलो वा ओसिलो ठाउँमा नजाने
– नुनिलो पानीले नाक सफा गर्ने

प्रकाशित मिति : १८ जेष्ठ २०७८ मंगलबार ००:००  २ : ०३ बजे