१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुवाको दाहसंस्कार गरेर फर्किँदा बाटोमै छोराको पनि मृत्यु



डडेल्धुरा ।
डडेल्धुराको आलिताल–५ भावरमा बस्दै आएका ७५ वर्षीय भक्तबहादुर रोकाको असार ८ गते निधन भयो। मृत्यु पश्चात उनको काजक्रिया गर्न भारत बस्दै आएका उनका छोराहरूलाई खबर भयो।

मृतकका दुई छोरामध्ये कान्छो छोरा आउन नसक्ने भएपछि भारतको पिथौडागढमा परिवारसहित बस्दै आएका उनको जेठा छोरा शेरबहादुर सपरिवार बुवाको काजक्रिया गर्न गाउँ आए।

भारतमा मजदूरी गरेर परिवार पालिरहेका रोका गाउँसम्म आउन पनि पैसा पनि थिएन। जसोतसो गरी उनीहरु कञ्चनपुरको ब्रह्मदेब हुँदै नेपाल आए। बुवाको निधनको खबर सुनेको भोलि पल्ट नै नेपाल आइपुगेका शेरबहादुर गाउँमा आइपुग्दा बुवाको चितामा आगो लागि सकेको थियो। उनी आइपुगेपछि बुवाको चितामा आगो बलिरहेको देखेर उनी केहिबेरसम्म टोलाइरहे। शोकमा डुबेका उनी केहि बेर कसैसँग बोलेका थिएनन्।

भारतबाट आएका भएकाले उनीसँग सबै अलग्गै बस्ने कोसिस गरिरहेका थिए। केही बेरमा उनको बुवाको चिताको आगो सकियो। सामाजिक परम्पराअनुसार उनले आफ्नो बुबाको अन्तिम संस्कार गरे। केही बेरमा बुवाको काजक्रियाको लागि उनले परम्पराअनुसार क्रिया बस्दा गर्नुपर्ने सबै काम सके। अब उनको शरिरमा सामान्य सेतो कपडा मात्र रह्यो।

बुधबार बुवाको अन्तिम दाहसंस्कारमा गरिने कार्य गरिसकेपछि अब घर फर्किने निधो गरे। केही मलामी गएका आफन्तहरू बाटो लागि सकेका थिए भने केही आफन्त आउँदै थिए। काजक्रियामा तयार भएका शेरबहादुर केही आफन्तसँग बाटो लागे।

शेरबहादुरलाई आफन्तले क्रिया कति दिनको राख्ने भनेर सोध्दा उनले ११ दिनको राख्ने म कमजोर छु धेरै दिन बस्न सक्दिनँ भनेको उनका आफन्त बताउँछन्। नभन्दै हेर्दा रोगी र कमजोर देखिने शेरबहादुर करिब ५० मिटर यता आउँदा अकस्मात आफैं ढले।

आफन्तले के भयोरु भनेर समात्न जाँदा शेरबहादुरले आफन्तकै अँगालोमा प्राण छोडे। यस्तो घटना देखेपछि आफन्त अचम्ममा परे अलमलमा परे। काजक्रिया गर्न तयार भएका छोराकै मृत्यु भएपछि मलामी गएका आफन्त समस्यामा परेका हुन्।

बुढापाकाहरूले हामीले अहिलेसम्म यस्तो घटना कहिल्यै नदेखेको बताउँछन्। परिवारका दुःखमा झन् दुःखमा दुःख थपिँदा मनमा कस्तो भइरहेको होला भन्ने कसैले पनि कल्पना गर्न सकिरहेका थिएनन्।

अचम्म त के छ भने मृतक शेरबहादुरकी श्रीमतीका अनुसार श्रीमानले पहिल्यै आफ्नो पनि बुवासँगै मृत्यु हुने कुरा बोलेका थिए।

रोका परिवारमा काजक्रिया गर्न आएका छोराको नै मृत्यु भएपछि अब कसरी परम्परा अनुसार काजक्रिया गर्ने भन्ने अन्योल परेको छ। भारतको पिथौडागढमा मजदुरी काम गरेर दुई छोरा पढाइरहेका उनी पहिले देखिनै प्रेसर र जन्डिसका बिरामी रहेको परिवार स्रोत बताउँछ।

आर्थिक अवस्था कमजोर भएका उनले उपचार गर्न नपाएको परिवारले बताए। भारतको पिथौडागढमा कक्षा १० मा पढ्दै आएका दुईवटै छोराको अब कसले पढाइ दिने भन्दै परिवार चिन्तामा रहेको छ।

‘बुवाले मजदुरी गरेर कमाएको पैसाले हामी दुबै भाई स्कुल पढ्दै थियौं। अब हामीले कसरी पढ्नेरु मृतक शेरबहादुरका कान्छा छोरा आशिषले आँखाबाट आँसु झार्दै दुखेसो सुनाए। ७५ वर्षीय बुवा र ४५ वर्षीय छोरा दुवैको एकैदिन अन्तिम संस्कार भयो।

घटना सुनेपछि घट्ना स्थल पुगेका आलिताल गापा– ५ का वडाध्यक्ष प्रकाशसिंह बोहराले आर्थिक सहयोगको लागि आफूले सक्दो पहल गर्ने बताए।

‘यो अप्रिय घटनाले आफ्नो मन दुखेको छ। पालिकाको गाउँसभामा यो दुःखद घटनाको विषयलाई उठान गर्छु। पालिकाबाट हुने सहयोगको लागि आफूले पहल गर्छु।’ बोहराले भने।

इलाका प्रहरी कार्यालय जोगबुडाले घटनाबारेमा जानकारी आएको तर दुःखमा रहेका बेला हृदयाघात भएर निधन भएको हुन सक्ने भन्दै पोष्टमार्टम नगरिएको जनाएको छ।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ११ : ५५ बजे