एजेन्सी । तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।
रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
पार्केन एरिनामा सुरुवाती अग्रता क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।
पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।युरोपियन च्याम्पियनसिपमा आत्मघाती गोल गर्ने उनी चौंथो गोल किपर हुन् । यस्तै जारी प्रतियोगिताको यो नवौं आत्मघाती गोल हो ।
तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । अल्भारो मोराटाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गरेका हुन् ।
खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । उनले फेरान टोरेसमा क्रसमा हेडमार्फत गोल गरेका हुन् । डिफेन्डर अज्पिलिकुइटाको यो स्पेनको लागि पहिलो गोल हो ।
खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे ।
८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । उनी ६७ औं मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मारियोले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । उनले मिस्लाभको पासमा हेडरमार्फत गोल गरेका थिए । मारियो ७९ औं मिनेटमा निकोलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।खेलको १०० औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए । डानिल ओल्मोको पासमा उनले गोल गरे ।
त्यसपछि खेलको १ सय ३ औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५-३ गोलको रोमान्चक जित दिलाए ।
यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ ।अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।
स्पेनले समूह ई बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो ।
क्रोएसियाले समूह डी बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।
प्रतिक्रिया