१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

बुद्धभूमिमा धानै रोपेर यसरी मनाइयो राष्ट्रिय धान दिवस



मायादेवी अनलाइन, बुद्धभूमि ।
असार १५ को राष्ट्रिय धान दिवस कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पनि मनाइएको छ । दिवसको अवसरमा नगरको कृषि शाखाले वडा नं. ४ को सीतापुरमा रोपाई कार्यक्रमको आयोजना गरेको थियो ।

रोपाई कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठ, उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, नगर प्रवक्ता तथा वडा नं. ४ का वडाध्यक्ष पवनकुमार थारु लगायत नगरका कर्मचारी, किसान सबैले खेतमा पुगेर धान रोप्नुभएको थियो ।

प्रगतिशील कृषक समूहको संयोजन रहेको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले किसानलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि नगरले किसानलाई प्रोत्साहन गरेको बताउनुभयो । सिंगो नगर कृषिमा आत्मनिर्भर बनाउन कृषिको यान्त्रिकरण, आधुनिकरणमा नगरले ध्यान दिएको बताउनुभयो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरपालिका सधै किसानको साथमा छ भन्ने सन्देश दिनका लागि आफुहरुले खेतमा पुगेर धान रोपेको बताउनुभयो । अहिलेको परिस्थितीमा आधुनिक कृषिलाई महत्व दिनुपर्ने बताउँदै उहाँले आगामी आर्थिक बर्षमा आधुनिक कृषि र कृषि यन्त्रलाई नगरपालिकाले प्राथमिकतामा राख्ने बताउनुभयो ।

धान रोपेपछि किसानसंगै जनप्रतिनिधि र कर्मचारीले दही, चिउरा खाएर दिवस मनाएका थिए ।

यो बर्षको धान दिवसको नारा “धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” रहेको छ । बेलैमा बर्षा हुँदा यो बर्ष धानको उत्पादनमा बृद्धि हुने अपेक्षा रहेको छ ।

प्रकाशित मिति : १६ असार २०७८ बुधबार ००:००  ६ : ४६ बजे