५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हत्या गरी भागेका २ अभियुक्त ४४ वर्षदेखि पक्राउ



बुटवल ।
रुपन्देहीमा हत्यामा गरेर ४४ वर्षदेखि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । हत्यामा अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएका दुई जनालाई जल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका २ का ७० वर्षीय चिनगुद चाई र ७० वर्षीय कप्तान चाई रहेका छन् ।

उनीहरूलाई प्रहरीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी डाक्टर मनोज केसीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूले २०३४ साल असोज २३ गते राति ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरेको खुलेको थियो ।

सर्वोच्च अदालतले दुवै जनालाई २०४० साल वैशाख ८ गते कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो । फैसला यता दुवै जना हालसम्म फरार थिए । प्रहरीले दुबैलाई जिल्ला अदालत रुपन्देहीले फैसला कार्यान्वयनको लागि कारागार चलान गरिसकेको छ ।

प्रकाशित मिति : १८ असार २०७८ शुक्रबार ००:००  ६ : १३ बजे