६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

बढी भाडा लिने ७७ सार्वजनिक गाडी कारबाहीमा



काठमाण्डौ ।
सार्वजनिक गाडीमा तोकेभन्दा बढी भाडा लिने ७७ गाडीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

गाडी व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाण्डौ उपत्यकालगायत प्रदेशभित्र चल्ने गाडीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिनुभयो ।

महाशाखाले शुक्रवारदेखि शनिवार बिहानसम्म बढी भाडा लिने १६० गाडीलाई कारबाही गरेको थियो । शनिवारदेखि आइतवार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ गाडीलाई कारबाही गरिएको हो । बढी भाडा लिने गाडीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने गाडीलाई ५०० रुपैयाँदेखि एक हजार ५०० सम्म कारबाही भइरहेको छ ।

एउटै गाडीले पटक पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित गाडी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताउनुभयो । शुक्रवार कारबाही गरिएपछि शनिवारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८ सोमबार ००:००  ११ : ५० बजे