४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अर्थमन्त्री शर्मा र चिनियाँ राजदूतबीच भेटवार्ता



काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट भएको छ। शुक्रवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरे।

मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको उल्लेख गर्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे। उनले चीनबाट थप खोप खरिदका लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे।

मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे । उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजनाहरु सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने प्रतिवद्धता व्यक्त गरे।

भेटको क्रममा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताइन्। चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोभिड महामारीविरुद्धको लडाइमा आफूहरु नेपालको साथमा रहँदै आएको बताइएन्।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने उनले जानकारी दिइन्। यस्तै‚ भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै राजदूत होउले दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिइन्।

प्रकाशित मिति : १५ श्रावण २०७८ शुक्रबार ००:००  १ : ४० बजे