२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अस्ट्रेलियाविरुद्धको टी–ट्वान्टीमा बङ्गलादेशको ऐतिहासिक जित



काठमाण्डौ ।

घरेलु टिम बङ्गलादेशले अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खलामा ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियालाई १० रनले हराउँदै बङ्गलादेशले पहिलो पटक अस्ट्रेलियासँगको श्रृङ्खला जितेको हो ।

यससँगै बङ्गलादेशले पाँच खेलको श्रृङ्खला दुई खेल अगाडि नै जितेको छ । बङ्गलादेशले पहिलो खेलमा २३ रन तथा दोस्रो खेलमा ५ विकेटले अस्ट्रेलियालाई हराएको थियो । बङ्गलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि मिचेल मार्शले ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। बङ्गलादेशका शोरीफुल इस्लामले २ विकेट लिए ।

नसुम अहमेद र शकिव अल हसनले १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान महमुद उल्लाहले ५२ रनको अर्धशतकीय पारी खेले ।

अस्ट्रेलियाका डेब्यु खेलाडी नाथन एलिसले ह्याट्रिक विकेट लिए । उनी टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् । त्यस्तै जोस हाजलउड र एडम जाम्पाले २÷२ विकेट लिए। चौथो खेल आज बेलुका पौने ६ बजे हुनेछ ।

प्रकाशित मिति : २३ श्रावण २०७८ शनिबार ००:००  ९ : ५३ बजे