२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

तालिबानको पत्रकार सम्मेलनः महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी



एजेन्सी ।

अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दुःख दिन नचाहेको बताएका बीबीसीले जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता जबिहुल्लाह मुजाहिदले दुई दशकको संघर्षपछि देशलाई विदेशीहरुको कब्जाबाट मुक्त गर्न सफल भएको र यो देशको लागि गर्वको विषय भएको बताउनुभएको छ । अफगानिस्तानलाई अब युद्धभूमि बनाउन नदिइने उल्लेख गर्दै प्रवक्ता मुजाहिदले आफूहरुविरुद्ध लागेका सबै सरकारी कर्मचारीलाई आममाफी दिएको बताउनुभयो ।

महिला अधिकारको सम्मान गर्ने तालिबानको भनाई छ । महिलाहरुले सरिया कानुन मान्नुपर्ने तर उनीहरुले डराउनुपर्ने कारण नरहेको बताउँदै प्रवक्ता मुजाहिदले महिलाहरुसँग काँधमा काँध मिलाएर अघि बढ्ने बताउनुभयो । आफूहरुले अब कुनै पनि शत्रु नचाहेको बताउँदै तालिबानले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न चाहेको बताएका छन् । यस्तै तालिबानले आफ्नो सांस्कृतिक ढाँचा भित्र रहेर निजी क्षेत्रका सञ्चारमाध्यम निष्पक्ष र स्वतन्त्र हुन पाउनेमा पनि ढुक्क रहन आग्रह गरेको छ । तालिबानले नयाँ सरकार गठनको तयारी पनि गरिरहेको छ ।

प्रकाशित मिति : २ भदौ २०७८ बुधबार ००:००  ८ : ४१ बजे