२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

काबुल विमानस्थलमा गोली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गयो



एजेन्सी ।

अफगानिस्तानको काबुल विमानस्थलको प्रवेशद्वार नजिकै गोली हानाहान हुँदा कम्तीमा एक जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।
पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबीच गोली हानाहान हुँदा एक अफगानी सुरक्षाकर्मीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सहभागी थिए । तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्न चाहने मानिसका कारण गएको हप्ता तनावपूर्ण बनेको काबुल विमानस्थल हिजो आइतवार केही व्यवस्थित भएकोमा आज फेरि गोली चलेको हो । तालिबानले काबुल नियन्त्रणमा लिएपछि भएको गोली हानाहान तथा भागदौड र हवाई जहाजबाट खसेर कम्तीमा २० जनाको ज्यान गइसकेको रोयटर्सले जनाएको छ ।

यसैबीच अफगानिस्तानको समस्याबारे छलफल गर्न भोलि मङ्गलवार जी–७ का नेताहरूको आपत्कालीन बैठक बस्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको छलफलपछि भोलि आपत्कालीन बैठक बस्ने तय भएको बीबीसीले जनाएको छ । बैठकमा अफगानिस्तान समस्या समाधानका लागि समान धारणा बनाइ संयुक्त पहल गर्ने बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७८ सोमबार ००:००  २ : २४ बजे