मायादेवी अनलाइन, कपिलवस्तु ।
नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएका गाईजात्रा कपिलवस्तुमा यस वर्ष पनि मनाइएको छ । कोरोना भाइरस महामारीका बीच पनि यस वर्ष गाइजात्रा मनाइएको हो ।
जिल्लाको वाणगंगा नगरपालिका १ बैरियामा नाचगान गरेर गाईजात्रा मनाइएको हो । सदाको वर्ष जस्तै यस वर्षपनि नेवार समुदायले बाजा, झाकी सहित गाईजात्रा मनाएको सहित वैरियाबाट सुरु भएर चार नम्बर लगायतका महत्वपूर्ण चोकमा जात्रा गरिएको हो । उक्त अवसरमा विभिन्न ब्यङ्ग्य प्रस्तुती पवनि दिइएको थियो ।
वर्षभरि नेवार समुदायमा दिवङ्गत भएकाहरूको घर–घरबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै सम्झना स्वरूप गाईजात्रा निकाल्ने प्रचलन अनुसार कार्यक्रम गरिएको नेवार समुदायका अध्यक्ष चित्र बहादुर श्रेष्ठले मायादेवी अनलाइनसंग बताउनु भयो ।
बाजा र डोके सँगै लठ्ठी ठटाउँदै फेटा, धोती र छड्के लगाएर सिँगारिएका युवाहरू नाच्ने गर्छन, यसलाई बैरागी भनिन्छ । गाईजात्रामा नाचिने यस नाचलाई बैरागी नाच वा डोके नाच पनि भन्ने गरिन्छ । यो पर्व ठाउँअनुसार फरक–फरक ढङ्गले मनाउने गरिएको छ ।
राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि भाव विह्वल भएकि रानीलाई मनाउन यस प्रकारको जात्रा निकाल्ने प्रचलन सुरु गरेको किंवदन्ती छ । त्यस बेलादेखि निरन्तर कपिलवस्तुमा गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।यस दिन डोको र बाँसबाट मानव आकृति निर्माण गरी मादल, बाँसुरी र मुजुराको तालमा नाच्दै बजार परिक्रमा गर्ने चलन छ ।
समलिंगी तेस्रोलिंगीले पनि मनाए गाईजात्रा पर्व
विगत १८ वर्ष देखी गाइजात्रा पर्व मनाउदै आएको यौनिक तथा लैङगिक अल्पसंख्यक समुदायले यस वर्ष पनि गाईजात्रा पर्व मनाएको छ । यस वर्ष ज्यान गुमाएका आफ्नो समुदायको ब्यक्तिको आत्माको चिर शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाएको नव जिवन कपिलवस्तुले जनाएको छ ।
आफ्नै घरपरिवारबाट समेत निकालिएका ब्यक्तिको मृत्यु पश्चात पनि परिवारले नसम्झिने गरेको भन्दै समलिंगी तेस्रोलिंगी समुदायको मातृ संस्था निल हिरा समाज काठमान्डौको सहयोगमा नव जीवन कपिलवस्तुले त्यस्ता ब्यक्तिको सम्झनामा गाइजात्रा पर्व मनाएको हो ।
जिल्लाका बिभिन्न स्थानबाट तौलिहवा पुगेका समलिंगी तेस्रोलिंगीले नव जिवन कपिलवस्तुको कार्यालय क्याम्पस टोल देखी सुरु गाइजात्रा र्यालीले भिक्षु चोक, गौढी चोक हुदै जिल्ला प्रशासन पुगेर यो वर्ष ज्यान गुमाएका आफ्नो समुदायका ब्यक्तिको सम्झनामा क्याण्डिल बालेका थियो ।
उक्त अबसरमा र्यालीलाई सम्बोधन गर्दै नव जिवन कपिलवस्तुका संयोजक प्रेरणा बिष्टले निल हिरा समाजले काठमान्डौमा सन २००१ देखी गाईजात्रा मनाउदै आएकोमा यस वर्षमा कोरोना महामारीका कारण जिल्ला जिल्लामा कार्यक्रम आयोजना गरिएको बताईन ।
समलिंगी तेस्रोलिंगीले आयोजना गरेको यस गाईजात्रा कार्यक्रमले जिल्लामा तेश्रो लिङ्गि समुदायलाई हेर्ने धारणामा परिवर्तन ल्याउन सहयोग गरेको कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदम राज श्रेष्ठले बताए ।
गाईजात्राको अवसरमा कपिलवस्तु जिल्लामा पनि तेश्रो लिङ्गिहरु कुनै डर त्रास बिनै खुलेर आएको नव जिवन कपिलवस्तु अध्यक्ष मुस्कान क्षेत्रीले बताईन । उनले बिगतका दिनहरुमा समलिंगी तेस्रोलिंगीको न्यून मात्रामा खुलेर आएता पनि हाल ६ सय भन्दा धेरै खुलेर आएको बताईन ।
कपिलवस्तु जिल्लामा हाल सम्म ३ हजार ४ सय भन्दा धेरै यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका व्यक्तिहरु हाल सम्म नव जिवन कपिलवस्तुको सम्पर्कमा आएको संयोजक बिष्टले जानकारी दिईन ।







प्रतिक्रिया